कोरोना संक्रमणले थलिएका पूर्वमन्त्री मन्सुरलाई हेलिकप्टरमा काठमाडौं ल्याइयाे

कोरोना संक्रमणले थलिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री फर्मुल्लाह मन्सुर उपचारका लागि हेलिकप्टरमा काठमाडौं आएका छन्। 

मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई वीरगञ्जको नेसनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल आइसोलेसनममा राखेर उपचार शुरु गरिएको थियो।

तर ज्वरो आउने, खोकी लाग्ने र हिँड्दा दम बढ्ने समस्या भएपछि उनलाई थप उपचारकाे लागि काठमाडाैं लेरआउन चिकित्सकले सल्लाह दिएका थिए।

चिकित्सककै सल्लाह बमाेजिम उनलाई पार्टी नेतृत्वको आग्रह पछि थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टर चार्टर्ड गरेर काठमाडौं ल्याइएकाे नेपाली कांग्रेसका महासमिति सदस्य लोकेश सिंहले जानकारी दिए।

‘वीरगञ्जको एडभान्स अस्पतालमा चेकजाँचका लागि जानुभएको थियो’ उनले भने ‘चिकित्सकले पीसीआर परीक्षण गराउन सल्लाह दिएका थिए, परीक्षण रिपोर्ट पोजेटिभ आएपछि थप उपचारका लागि मेडिसिटी ल्याइएकाे हाे।’

स्वास्थ्यस्थिति भने सामान्य नै रहेको उनले जानकारी दिए। 
 

प्रकाशित मिति: : 2020-11-04 20:57:00

प्रतिकृया दिनुहोस्