खगेन्द्र संग्रौला
उनन्तीस
साँझपख म चुरोटको सर्को उडाउँदै बाँसझ्याङछेउको बाटोमा टहल्दै थिएँ, घर हिँडेका पुरोहित बाजे लमक–लमक लम्किँदै मतिर आए । उनका निधारमा तीन धर्के चन्दन थियो र काखीमुनि थियो एउटा सानो पोको । मलाई देख्दा बाजेको मुखमण्डलमा असहज भाव छायो । वार्ताको सामना गर्नु नपरोस् भनेझैँ गरी मलाई उछिनेर अघि बढ्न उनले चाल बढाए ।
“हिँडियो गुरु ?” वार्ताको द्वार खोल्न मैले प्रस्ताव राखेँ ।
“घर टाढा छ, सर । आज अबेर भइगो ।”
मैले गुरुलाई पछ्याएँ । गुरुका पाइलाको चाल झन्झन् तीव्र भयो ।
“गुरु, एउटा स्यानो कुरा सोध्न सकिएला ?”
“आच्या, ठूलै कुरा सोध्न सकिन्छ नि, सर ।”
“आजको पुराणमा गाई–गोरु महात्म्य सुनेपछि मेरो मनमा एउटा अप्ठ्यारो प्रश्न उठ्यो, गुरु ।”
“हजुर ?” प्रश्न सुन्नुअघि नै गुरु तिल्मिलाए ।
“गुरु, हजुरले माग्नुभएजति गाई–गोरु दान गर्नलाई त हामी चार दाजु–भाइले विर्तामोडभरिका सारा गाई–गोरु चोर्नुपर्ने भो नि ! धर्म थाम्न हामीलाई त बडो कष्ट हुने भो । हँ गुरु ?”
“पर्दैन, सर ।”
“गुरुले शास्त्रलाई साछी राखेर मागिसक्नुभो, अब पर्दैन भनेर भो र ?”
“यो पहिलेको कुरो हो, सर ।” विचारमग्न मुद्रामा बाजेले भने । “पहिले सहकाल थियो । मान्छेको जातलाई नपुग्दो केही थिएन । फेरि उसबेलाका मान्छेका मन पनि ठूला थिए ।”
“गुरुले त्यतिविधि मानिसहरूले सुन्ने गरी मागिसक्नुभो । अब हामीले गाई–गोरु नचोरी भो र ?” मैले बाजेको जिब्रो अँठ्याएँ ।
“सकेको गर्ने हो ।” खिस्रिक्क परेको भाकामा बाजेले भने । “शास्त्रमा लेखेजति गर्न त सत्य युग फर्किनुपछ, सर ।”