भारत र अमेरिकासँग द्वन्द्व बढिरहेकाे समयमा राष्ट्रपति चिनफिङलाई अझै शक्ति थपिदै

भारत र अमेरिकासँग बढ्दो द्वन्द्व र कोभिड–१९ का कारण विश्व नै आक्रान्त भइरहेको समयमा चिनियाँ कम्युनिष्ट पार्टीको बैठक शुरु भएको छ।

आगामी पाँच वर्षको आर्थिक र सामाजिक विकासमा कस्तो नीति लिने र अन्तर्राष्ट्रिय चुनौतीहरुलाई कसरी सामना गर्ने भन्ने सम्बन्धमा योजना बनाउन बैठक डाकिएकाे हाे।

सो पार्टीको केन्द्रीय समितिको पाँचौं प्लेनरी सेसन सोमबारदेखि बेइजिङमा शुरु भएको छ। बैठक चार दिनसम्म चल्ने छ। बैठकलाई निकै महत्वका साथ हेरिएको छ।

बैठकले आगामी सन् २०३५ सम्मको भिजनसमेत तयार पार्ने चिनियाँ सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। उदाउँदो शक्ति चीनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरुसमेत सो बैठकले तय गर्नेछ।

बैठकले पार्टीको मामिलामा केन्द्रीय समितिलाई अझ धेरै अधिकार दिने र त्यसमार्फत चिनियाँ राष्ट्रपति सी चिनफिङ अझै शक्तिशाली हुने बताइएको छ।

अमेरिकामा हुन लागेको राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा बैठक हुन गइरहेको छ। अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवारहरु डोनाल्ड ट्रम्प र  जो बाइडन दुवैले चीनप्रति आक्रामक हुने छनक दिइसकेका छन्।

यसै कारण बैठकलाई निकै महत्वका साथ हेरिएको छ।

प्रकाशित मिति: : 2020-10-27 12:22:00

प्रतिकृया दिनुहोस्