‘सर ! त्यो अस्ति हामीले आईसीयुमा हेरेको बिरामीको पीसीआर पोजिटिभ पो आयो त । अब मेरो पनि जँचाउन पर्ने भयो ।’ आफ्नो रेसिडेण्टको बिहानीपखको टेलिफोनले झसङ्गै बनायो एकछिन् त ।
‘........स्टाफको पीसीआर पोजिटिभ देखिएको हुँदा विगत एक हप्तायता उहाँको क्लोज कण्ट्याक्टमा रहनुहुने सबैले भोलि ९.३० बजे पीसीआरका लागि सम्पर्क राख्नुहोला......’
अस्पतालको दैनिक बुलेटिन भाइबर मेसेजमा झुल्किएपछि एकछिन् त हतप्रभ नै बनायो ।
‘हामीले अस्ति एसिस्ट गरेको अपरेसनको बिरामी त कोभिड पोजिटिभ पो पाइयो पोष्टअप इन्भेस्टिगेसनमा । ओहो ! सबैले अब क्वारेन्टाइन पो बस्नुपर्ने भो त । बरु हाम्रो हस्पिटल क्वारेण्टाइनमा सबैजना अट्ने बेड खालि होला कि नहोला ?’
अस्पतालका डिपार्टमेण्टल मिटिङ्गमा यस्ता छलफल दैनन्दिन जस्तै नै भइसकेका छन् अचेल ।
‘हरे! त्यो छोराको आँखा मैले हेर्नै सकिनँ । ‘तिम्रो बुवा रहनुभएन तर अफशोच ! उहाँको पार्थिव शरीर पनि तिमीले नपाउने भयौ । सेनाले जिम्मा लिइसक्यो उहाँलाई ।’ यति भनिसक्दा नसक्दै म त भक्कानिन पुगें ।’ आफूले हेरेको कोभिड–१९ को बिरामी आईसीयूमा नै ब्यूँँतिन नसकेपछि तिनका छोरालाई यो दुःखद समाचार सुनाउनुपर्दाको समय बयान गरिरहेका थिए मेरा समकक्षी मित्र ।
‘केही गरी मैले हेरेको बिरामी कोभिड–१९ पोजिटिभ भयो भने अनि म होम आइसोलेसनमा बस्नुपर्यो भने कुन कोठामा बस्ने होला ?’ दैनिकैजसो हामी चिकित्सक आफ्ना परिवारसँग योजना बनाउँछौं । त्यस्तो अवस्थामा हामीसँग नजिक सम्पर्कमा रहे गरेका परिवारका सदस्यहरु, साथीसँगी अनि बन्धुबान्धवहरुको सूची बनाउँछौं । त्यो सूची कहिले एकदम लामो हुन्छ अनि हामी अत्तालिन्छौं । करीब दुई हप्ता यताका निकट सम्पर्कमा रहे गरेका व्यक्तिहरुको सूची कहिले लामो त कहिले छोटो हुनु स्वाभाविकै हो । चाडबाड, रमाइलो भेटघाट, भोजभतेर त यसपालि हाम्रो चासोको विषय रहने कुरै भएन । परिवारकै सदस्य, दिदीबहिनी, नसनाताहरुलाई समेत नचाही नचाहिकनै पनि ‘कृपया हामीसँग सकभर नभेट्नुहोस्, हामीकहाँ नआउनुहोस् ।’ भनी बारम्बार मौखिक–लिखित अनुरोधहरु ग्रिरहनुपर्ने विवशता आइलागेको छ । यस्ता अनुरोध गरेपछि सामाजिक रुपमा पाइने अबगाल अनि प्रत्यक्ष –परोक्ष तिरस्कारका कहानी अझै छुट्टै नै छन्, कुनै बेला प्रष्फुटित नै होलान् पनि ती भावना !