जुत्ता सिलाएर आफ्नो
जिन्दगी सिउँछ ऊ
जुत्ता चम्काएर,आफ्नो
थाल टल्काउँछ ऊ।
धुलो सडकमा बसेर त्यो
स्वच्छ गगनको सपना
देख्नेहरूको तक्दिर रन्काउँछ ऊ।
जिन्दगीको चढाईमा
हारेकाहरूलाई
हिमाल चढ्ने साहस
र हौंसला खिच्छ ऊ।
अन्ध्याँरो कोठरीमा।।
दियो बाल्न दिन रात
चाल्नीमा सपना सिउँदा–सिउँदै
औंलाहरूमा सियो घोप्छ ऊ।
तिनै घात परेका औंलाले
फेरि संसार चलाउने
खुट्टालाई निडर भइअघि
बढन सिकाउँछ ऊ।
कालो जिन्दगी पनि
रंङ्गाउँछ ऊ, खैरो जिन्दगी
पनि चिल्याउँछ ऊ
रातो रगत सरि, सेतो दुध सरि
आफ्नो पसिनाको रंग
सजाएर देखाउँछ ऊ।
आफूले धुलो–मैलो
खाएर पनि तिम्लाई
न्यानो जिन्दगीको
रस पिलाउँछ ऊ।
अति व्यस्त दौडि
प्रगति चुम्ने समयलाई
दौड्ने कपास दिएर
समय देखि नै
घृणित हुन्छ ऊ।
उसले दिएका कतिपय
पद्चिन्नले रेटी रेटी
म्याराथन जिताउँछ ऊ
म्याराथन जित्ने ति
खुट्टा स्वर्ग टेक्न
पुगि गए ,ऊ त्यही
धुलोमा अर्को जिन्दगी
सिउँछ ऊ।
त्यो चिल्लो जिन्दगीमा
खस्रो पैताला बनाएर
तिम्लाई भविष्यमा
लड्न नदिने ऊ
तिमि त नचिप्ली
शिखर चढी गयौ
ऊ त त्यही सडकमा
बल्ड्याङ–बल्ड्याङ
धुलो खाई
धुलो जसै कतै कतै
अन्योल भई हराउँछ ऊ।
रोशन दियाली काङग्लातोम्बी, मणिपुर