खगेन्द्र संग्रौला
मानिसको नाम जगत्सँग सम्पर्क राख्ने उसको नितान्त अन्तरङ्ग माध्यम हो । अनि जगत्सँग अन्तर्क्रिया गर्ने उसको माध्यम पनि त आखिर नाम नै हो । प्रत्येक मानिस सामाजिक समष्टिको एक विशिष्ट एकाइ हो, र ऊ स्वयंमा एक स्वायत्त सत्ता पनि हो । उसको यो विशिष्टता र उसको यो स्वायत्तता प्रकट हुने माध्यम पनि त उसको नामै हो । तर हाम्री आमा अनाम हुनुहुन्थ्यो । अनाम र यस अर्थमा एकदमै परिचयविहीन पनि । मनमा उध्धुमै विझाउने गरी मलाई यस कुराको चेत तब भयो जब आमा बित्नुभो ।
“मलामी कति जना थिए ?” बिर्तामोडमा पुगेर शोकको पहिलो अध्याय समाप्त भएपछि यो प्रश्न मतिर फालियो । यो प्रश्नको उच्चारण वैश्य जातको कोटीमा परेका मेरा दिदी–बहिनीहरूको शिविरबाट भएको थियो ।
“थुप्रै थिए” प्रत्युत्तरमा मैले भनेँ ।
“कति थुप्रै ?”
“थिए होलान् सौ–पचासजति ।”
“नाउँ चलेका नेताहरू पनि थिए कि ?”
“सीपी. मैनाली हुनुहुन्थ्यो ।”
“केपी शर्मा ओली पनि हुनुहुन्थ्यो कि ?”
ओलीजी बिर्तामोड क्षेत्रका संसदीय जनप्रतिनिधि हुनुहुँदो रहेछ । त्यसैले यो पछिल्लो प्रश्न स्थानीय भावुकताको रङ्गमा घोलिएर उठेको थियो । सायद रैथाने बासिन्दा साँल्दाइको थियो त्यो प्रश्न ।
“अरु को को थिए ?”
“धेरैजसो लेखक–कलाकारहरू थिए, मेरो परिचित र शुभचिन्तक मित्रहरू ।”
“अनि अरु ?”
“टोल–छिमेकका इष्टमित्रहरू ।”