विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अनुमति नदिएकाे एन्टिभाइरल औषधि रेमडेसिभिरलाई अमेरिकाले कोरोना भाइरसको संक्रमणकाे उपचारमा प्रयोगका गर्ने भएकाे छ।
डब्लुएचओले सो औषधिको प्रभावकारिता अति न्यून रहेको बताएको केही दिनपछि अमेरिकाले भने पूर्ण स्वीकृति दिएको हो।
कोरोनबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि रेमडेसिभिरसहितका औषध दिइएको थियो। उनी अहिले संक्रमण मुक्त भएर चुनावी अभियानमा सामेल छन्।
आफ्नो संयोजनमा भएको परीक्षणमा रेमडेसिभर, हाइड्रोक्सिक्लोरोक्वीन, लोपिनाभिर/रितोनाभिर र इन्टरफेरोन रेगिमेन्सको प्रभावकारिता कोरोना भाइरस संक्रमितको उपचारमा अति कम वा शून्य देखिएको डब्लुएचओले जनाएको छ।
३० भन्दा बढी देशमा यी औषधिको प्रयोग गरी अस्पताल भर्ना भएका कोरोना संक्रमितको मृत्युदर, भेन्टिलेटरको आवश्यकता र अस्पताल बसाईमा कस्तो प्रभाव पर्छ भनि हेरिदा २८ दिन भित्र हुने मृत्युदरमा कमी यी औषधि प्रयोग गर्दा शून्य वा अति कम प्रभाव देखिएको डब्लुएचओले जनाएको छ।
तर अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले क्लिनिकल ट्रायलको क्रममा रेमडेसिभिरले बिरामीको अस्पताल बसाई औषतमा पाँच दिनले कम गराएको दावी गरेकाे छ। यसैकाे आधारमा काेराेना भाइरस संक्रमितकाे उपचारमा प्रयाेग गर्न पूर्ण स्वीकृति दिइएको हो।
भेक्लरी नामक ब्राण्डको रेमडेसिभिर औषधिलाई एफडिएले पहिलोपटक स्वीकृति प्रदान गरेको हो। यसअघि आपतकालीन प्रयोगका लागि मात्रै स्वीकृति प्राप्त थियो।