नेकपा कर्णाली प्रदेश संसदीय दलको सचेतकमा कुर्मराज नियुक्त, बच्यो दुई मन्त्रीको राजीनामा

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध त्यहाँको प्रदेश संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि कर्णाली प्रदेशमा राजनीतिक युद्ध शुरु भएको छ।

मुख्यमन्त्री शाहीले मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी कालीकोटबाट निर्वाचित सांसद कुर्मराज शाहीलाई दिएका छन्।
 
माधब नेपाल समूहका नेताहरुको सहमतिअनुसार उनले शाहीलाई सचेतकमा नियुक्त गरेका हुन्।

यसअघि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक रहेकी सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेका थिए। 

नेपालीले प्रमुख सचेतकको जिम्मेवारी पाएपछि खाली भएको ठाउँमा कुर्मराजलाई नियुक्त गरिएको हो।

मुख्यमन्त्री शाही सरकार सञ्चालनमा असफल भएको र पार्टीको पनि बदनाम भएको भन्दै आफ्नै पार्टीका तीन जना पूर्वमाओवादी पृष्ठभूमिका र १५ जना पूर्वएमाले पृष्ठभूमिका नेताहरु गरी १८ जना नेकपाका सांसदहरुले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

अविश्वासको प्रस्ताव फिर्ताका लागि अहिले केन्द्रीय तहदेखि प्रदेशस्तरका नेताहरुले छलफललाई तीव्र पारेका छन्।

 बच्यो दुई मन्त्रीको राजीनामा

सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री नन्दसिंह बुढाको राजीनामा नदिने भएका छन्।

उनीहरु दुवैलाई कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आफ्नो विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन भूमिका खेलेपछि निलम्बन गरेका थिए।

 गुलाफजंगले उनीहरु दुवैलाई आज मगंलबार दिउँसो निर्धारित संसदीय दलको बैठकमा आउन निर्देशन दिएका थिए।

मन्त्री रावल र बुढा राजीनामा दिएर दलको बैठकमा सामेल हुने तयारी गरेका बेला पूर्वसभामुख एवं नेकपाका नेता सुवास नेम्वाङले फोनमार्फत मिल्नुको विकल्प नभएको भन्दै राजीनामा नदिन निर्देशन दिएपछि उनीहरु पछि हटेका हुन्।

 

प्रकाशित मिति: : 2020-10-13 14:12:00

प्रतिकृया दिनुहोस्