सरकारले सार्वजनिक सवारी साधनका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
‘दसैँ, तिहार जस्ता चाडपर्वको समयमा यात्रुको चाप हुने र सार्वजनिक सवारी साधन कम हुने भएका कारण यस्तो निर्णय गरेका हौं,’ उनले भने।
तर, सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर अपनाउन पर्ने उनले बताए।
यसका साथै भाडा पुरानै दरमा लिनुपर्ने उनले बताए।
यसअघि सरकारले सार्वजनिक सवारी साधनलाई सिट क्षमताको आधा मात्रै यात्रु बोक्न निर्देशन दिएको थियो। त्यसबापत ५० प्रतिशत बढी भाडा लिन छुट दिइएको थियो।
त्यो निर्णय उल्टाउदै सरकारले पूर्ण सिट क्षमतामा यात्रु बोक्न दिने निर्णय गरेको उनले जानकारी दिए।
ठूला चाडपर्व नजिकिए पनि कोरोना संक्रमण तीब्र गतिमा फैलिँदै गएको छ। हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनले भनेजति यात्रु पाउन सकेका छैनन्।
यात्रु नहुँदा अहिलेसम्म दसैँको लागि अग्रिम टिकट बुकिङ पनि खुलेको छैन।
विगतका वर्षहरुमा दसैँको समयमा यातायात व्यवस्थापन सरकारको टाउको दुखाइको विषय बन्ने गरेको थियो। कोरोनाका कारण गरिएको लकडाउनमा गएका धेरैजसो मानिस गाउँमै रहेका र शहर फर्केका पनि गाउँ जाने कम छन्।
यातायात व्यवस्था विभागले दशैंका बेला कम्तीमा पनि दैनिक एक लाख मानिस उपत्यकाबाट बाहिरिने गरेकोमा यो वर्ष मुस्किलले नौ देखि १० हजार यात्रु मात्रै बाहिरिरहेका जानकारी दिएको छ।
गत शुक्रबार यतायात विभागले यातायात व्यवसायी, मजदुर र ट्राफिक प्रहरीसँग छलफल गरेको थियो। छलफलमा अग्रिम टिकट बुकिङ खुलाउनुपर्छ भन्ने पक्षमा कोही पनि देखिएनन्।