विश्व खाद्य कार्यक्रमलाई यो वर्षको नोबेल शान्ति पुरस्कार

यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)लाई दिइने भएकाे छ।

भोकमरी नियन्त्रणको प्रयास गरी शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा डब्लुएफपीलाई यो वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ।

नोबेल शान्ति पुरस्कार पाउने डब्लुएफपी १०१ औँ संस्था बनेको छ। यसअघि १०० पटक संस्था वा व्यक्तिले सो पुरस्कार पाएका छन्। यो वर्ष मनोनयनमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र जलवायु अभियन्ता गे्रता तुन्बेर पनि थिए। उनीहरुलाई पुरस्कारको होडमा अघि ठानिएको थियो।

यो वर्ष नोबेल शान्ति पुरस्कारका लागि १०७ संस्था र २११ जना व्यक्ति मनोनित भएका छन्। 

पुरस्कार स्वरुप डब्लुएफपीले ८ लाख ७५ हजार पाउण्ड प्राप्त गर्ने छ।

खाद्य सुरक्षा शान्तिको प्रमुख आधार रहेको र डब्लुएफपीले त्यसका लागि महत्वपूर्ण काम गरेको नोबेल शान्ति पुरस्कार समितिले जनाएको छ।

पुरस्कार पाएको डब्लुएफपीले सम्मानबाट आफूहरु अति आभारी भएको बताएको छ। 

डब्लुएफपीका प्रमुख डेविड बिजलेले पुरस्कार आफूहरुले पाएको घोषणा हुँदा आश्चर्यमा परेको बताएका छन्।

‘जीवनमा पहिलोपटक म अभिव्यक्ति बिहीन अर्थात अवाक भएँ। समस्यामा परेका विश्वभरका मानिसहरुको हितका लागि आफूलाई अग्रपंक्तिमा राख्ने डब्लुएफपीको हरेक एकका लागि यो पुरस्कार हो र उनीहरुको कामको सम्मान हो। यसले राम्रो सन्देश प्रवाह गरेको छ। हामीले अझै धेरै गर्नु छ,’ उनले भनेका छन्।

प्रकाशित मिति: : 2020-10-10 13:33:00

प्रतिकृया दिनुहोस्