पेशल आचार्य
प्रजातन्त्र या गणतन्त्र जे नाम दिनुहोस्, संसारको विकल्परहित व्यवस्था भनेर कहिल्यै नथाक्ने हामी कहिलेकाहीँ हाम्रो समाजमा घट्ने प्रतिनिधि घटनाहरूबाट भने दिक्क हुन्छांै र अनायास भन्छौं– ‘यो सब बहुदलकै कारणले भएको हो ।’ संसारमा त्यस्तो चीज केही छैन, जुन सर्वदा उपस्थिति भइरहोस् । अजर, अमर र अविनाशी आत्मा हो भनेर पूर्वीय धर्मशास्त्रले भने पनि त्योसमेत शरीरको मृत्युपश्चात् कहाँ जान्छ, के गर्छ, कसरी अस्तित्व ग्रहण गरेर यो चराचर ब्रह्माण्डमा घुमिरहन्छ, एकिन छैन । जे धर्मशास्त्रले बोल्छ त्यो अनुमान हो ।
विगत् तीन दशकयताको नेपाली समाजको समग्र चरित्रलाई केलाउने हो भने, यहाँ न कुनै आदर्श व्यक्तिको छविचित्र स्थापित हुन सक्यो, न कुनै आदर्श नीतिनियम र मार्गको सुविख्यात व्याख्या नै । हामी २०४६ सालताका आन्दोलनका कमान्डर गणेशमान सिंह श्रेष्ठलाई सो आन्दोलन सफल बनाउने भूमिका निर्वाह गर्नुभएको सन्दर्भमा त्यागी, महान् र संघर्षशील उपनामले सम्बोधन गर्दछौं । यसमा कुनै कन्जुस्याइँ गर्नुपर्ने कारण छैन तर तिनै गणेशमान सिंहले राजाबाट प्रधानमन्त्रीको अफर आउँदा कृष्णप्रसाद भट्टराईलाई देखाएर आफू अनिच्छुक भएको जानकारी दिए । पछि उनी पत्नी मंगलादेवी सिंहलाई संसद् सदस्य बनाउन र भतिज दुर्गेशमान सिंहलाई राजदूत बनाउने मामलामा नराम्रोसँग चुके । उनी आफ्नै पार्टी कांग्रेसबाट अलग भई अन्ततोगत्वा निराश अवस्थामै बिते ।