राष्ट्रसंघका प्रतिनिधिलाई भारतकाे जवाफ– गैर जरुरी टिप्पणी नगर्नु, बलात्कृत सबैलाई न्याय दिन्छाैं

संयुक्त राष्ट्रसंघीय रेजिडेन्ट कोअर्डिनेटरले जारी गरेको वक्तव्यको भारतले विरोध गरेको छ।

अक्टोबर ४ मा भारतमा संयुक्त राष्ट्रसंघका रेजिडेन्ट कोअर्डिनेटरले उत्तर प्रदेशको हाथरस र बलरामपुरमा भएको बलात्कार तथा हत्याको घटनालाई लिएर एक वक्तव्य जारी गरेका थिए।

वक्तव्यमा भारतमा महिला तथा किशोरीमाथि यौन हिंसा लगातार बढिरहेकाले चिन्तित बनाएको उल्लेख गरेका थिए।

‘हाथरस र बलरामपुरमा भएको बलात्कार तथा हत्याको घटनाले भारतमा अझै पनि पहुँचमा नरहेको वर्गका महिलाहरु लैंगिक भेदभाव र हिंसाको शिकार बनिरहेको स्पष्ट हुन्छ,’ वक्तव्यमा भनिएकाे छ।

त्यसकाे प्रतिउत्तर दसँदै भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले महिलामाथि भएका हिंसाका केही घटनालाई लिएर युएन रेजिडेन्ट कोअर्डिनेटरले अनुचित टिप्पणी गरेकाे आराेप लगाए।

‘भारतमा संयुक्त राष्ट्रसंघका रेजिडेन्ट कोअर्डिनेटरलाई यो थाहा हुनु पर्छ कि सरकार यस्ता विषयलाई अति गम्भीर रुपमा लिन्छ,’ उनले पत्रकारको प्रश्नको जवाफ दिने क्रममा भनेका छन्, ‘अनुसन्धान अहिले जारी छ, त्यसैले कुनै पनि बाहिरी एजेन्सीले गैर जरुरी टिप्पणी गर्नु हुँदैन।’

हाथरस तथा बलरामपुरसहितका स्थानमा विशेष गरी दलित युवती तथा किशोरीमाथि बलात्कार तथा हत्या भएका घटना सार्वजनिक भएका छन्।

राष्ट्रसंघीय रेजिडेन्ट कोअर्डिनेटरले जारी गरेको वक्तव्यमा महिला तथा किशोरीको सुरक्षा मजबुत बनाउनका लागि भारत सरकारले तत्काल प्रभावकारी कदम चाली दोषीलाई जति सक्दो चाँडो सजाय दिइ पीडित परिवारलाई न्याय, सामाजिक सहायता, काउन्सिलिङ्ग, स्वास्थ्य सेवा र पुनर्वासको अधिकार प्रदान गर्नु पर्ने उल्लेख थियो।

उनले त्यसकाे जवाफ दिँदै भनेका छन्, ‘संविधानले भारतका सबै नागरिकलाई समानताको ग्यारेन्टी दिन्छ। लाेकतान्त्रिक देशका रुपमा हामीले सबैलाई न्याय दिएको तथ्यांक छ।’

अहिले उत्तर प्रदेशसहित भारतभर दलित युवतीमाथि भएकाेबलात्कार घटनाविरुद्ध प्रदर्शन हुँदै आएको छ। यसैगरी विश्वका विभिन्न देशमा पनि ती घटनाको विरोधमा प्रदर्शन भएका छन्।

प्रकाशित मिति: : 2020-10-06 12:48:21

प्रतिकृया दिनुहोस्