प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने पक्षमा मतदान गर्न नेकपा संसदीय दलको ‘ह्विप’

प्रदेशको स्थायी राजधानी र नामाकरण सम्बन्धी संसदमा पेश भएको प्रस्तावबारे छलफल गर्न बसेकाे प्रदेश ५ को सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सकिएको छ। 

कडा सुरक्षाबीच सोमबार बिहान बुटवलमा बसेको बैठकले प्रदेशको राजधानी दाङ र नाम लुम्बिनीको प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ‘ह्विप’ जारी गरेको छ। 

‘दाङलाई राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्न मुख्यमन्त्री शंकर पोखरेलले ह्विप जारी गर्नुभएको छ,’ नेकपा मुख्य सचेतक भूमिश्वर ढकालले भने। 

नेकपाले ह्विप लगाएपछि दाङ राजधानी बन्ने निश्चित भएको छ।नेकपाका ६० जना प्रदेशसभा सांसद छन्। यद्यपी दाङमा राजधानी बनाउने विपक्षमा नेकपाका १४ सांसद थिए।

बैठकले दाङ देउखुरीलाई प्रशासनिक राजधानी बनाउने र लुम्बिनी क्षेत्रलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने गरी प्रदेश सरकारले कार्यक्रम ल्याउने निर्णय पनि गरेको छ।

सांसदहरुलाई बिहान दलको बैठकमा उपस्थित हुन साँझ नै एसएमएस गरेका थिए। एसएमएसमा बिहान ७ बजेपछि संसदीय दलको कार्यालयमा बैठक भनेर सांसदहरुलाई बोलाइएपनि मुख्यमन्त्री ११ बजेपछि मात्रै प्रदेशसभा परिसरमा प्रवेश गरेका छन्।

गत शुक्रबार प्रदेश सरकारको निर्णयपछि संसदमा प्रदेशको स्थायी राजधानी दाङ देउखुरी र नाम लुम्बिनी राख्न संसदमा प्रस्ताव दर्ता भएको छ।

प्रदेशका मन्त्री तथा सांसदसँग छलफल नगरी राजधानी र नाम सिफारिस गरेकोमा मुख्यमन्त्री शंकर पोखरेलको विरोध भइरहेको छ। राजधानी र नाम सिफारिसका लागि गठित समितिले दिएका विकल्प लत्याएको मुख्यमन्त्रीमाथि आरोप छ।

राजधानी बुटवलबाट दाङ सार्न नेकपाकै कतिपय सांसद मानेका छैनन्। विपक्षी नेपाली कांग्रेसले आन्दोलन गरिरहेको छ।

रूपन्देही, कपिलवस्तु, पाल्पालगायत जिल्लाका नेकपा सांसदले पनि राजधानी सार्ने विषयमा असन्तुष्टि जनाएका छन्। शनिबार पाँच घण्टा यसबारे उनीहरू छलफलमा जुटेका थिए।

प्रदेश सभामा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले सदस्यहरुका राय सुझावमाथि छलफल गर्न बाँकी रहेकोले बिहानै बैठक बोलाएको थियो।

बैठकमा सांसद श्रेष्ठले विधि र प्रक्रिया मिचेर प्रदेश राजधानी सार्ने प्रस्ताव आएको भन्दै प्रदेश सभाले नियमावली संसोधनका लागि बनाएको मस्यौदा समितिको संयोजकबाट राजीनामा दिएका छन्।

प्रदेश राजधानीबारे आज दिउँसो प्रदेशसभा बैठकमा छलफल हुनेछ। 

प्रकाशित मिति: : 2020-10-05 13:16:00

प्रतिकृया दिनुहोस्