बिहारका पूर्व उपमुख्यमन्त्री तेजस्वी र उनका दाइसहित ६ जनाविरुद्ध हत्या आरोप

राष्ट्रिय जनता दलका नेता तथा बिहारका पूर्व उपमुख्यमन्त्री तेजस्वी यादव र उनका दाइ तथा पूर्व मन्त्री तेजप्रताप यादवसहित ६ जनाविरुद्ध हत्या आरोपमा उजुरी दर्ता भएको छ।

उनीहरुमाथि पार्टीका पूर्व नेता शक्ति मलिकको हत्या आरोपमा पूर्णिया जिल्लामा उजुरी दर्ता भएको हो। 

मृतक शक्ति मलिककी श्रीमती खुशबू देवीको बयानको आधारमा ६ जनाविरुद्ध उजुरी दर्ता भएको प्रहरीले जनाएको छ। 

तेजस्वी र तेजप्रतापसहित अनिल कुमार साधु, कालू पासवान, सुनिता देवी र मनोज पासवानविरुद्ध उजुरी दर्ता भएको हो।

राष्ट्रिय जनता दलको अनुसूचित जाति–जनजाति प्रकोष्ठका सचिव मलिकको आइतबार बिहान हत्या भएको थियो। 

शक्ति मलिककी आमाका अनुसार आइतबार बिहान ६ बजेतिर तीनजना घरमा पसेर उनको हत्या गरेको बताएकी छन्।

अनिल कुमार साधु लोक जनशक्ति पार्टीका वरिष्ट नेता तथा केन्द्रीय मन्त्री रामविलास पासवानका ज्वाईँ तथा राजदुतका अनुसूचित जाति–जनजाति प्रकोष्ठको पूर्णिया जिल्लाका अध्यक्ष हुन्।

शक्ति मलिकका नजिकका व्यक्तिहरुका अनुसार उनले अररिया जिल्लाको रानीगञ्ज विधानसभा क्षेत्रमा पार्टीका तर्फबाट टिकट मागिरहेका थिए।

हालै जारी गरेको एक भिडियोमा मलिकले पार्टी नेतामाथि गम्भीर आरोप लगाएका थिए। पार्टी नेतासँग रुष्ठ भएका उनले रानीगञ्ज क्षेत्रबाट निर्दलीय प्रत्यासीका रुपमा चुनाव लड्ने तयारी गरेका थिए।

तेजस्वी, तेजप्रताप वा राष्ट्रिय जनता दलको तर्फबाट यो विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया नआएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित मिति: : 2020-10-05 09:07:39

प्रतिकृया दिनुहोस्