नेकपा प्रदेश संसदीय दलको बैठक बुटवलमा बस्दै

प्रदेशको स्थायी राजधानी र नामाकरण सम्बन्धी संसदमा पेश भएको प्रस्तावबारे छलफल गर्न सत्तारुढ दल नेकपाले संसदीय दलको बैठक बोलाएको छ । 

नेकपा मुख्य सचेतक भूमिश्वर ढकालका अनुसार १७ असोजमा मुख्यमन्त्री निवासमा भएको संसदीय दलको बैठकमा आफ्ना धारणा राख्न नपाएका सांसदहरुलाई छफलमा सहभागी गराउने उद्देश्यले दलको बैठक बिहानै बोलाइएको हो।

सांसदहरुलाई बिहान दलको बैठकमा उपस्थित हुन साँझ नै एसएमएस गरेका थिए। 

गत शुक्रबार प्रदेश सरकारको निर्णयपछि संसदमा प्रदेशको स्थायी राजधानी दाङ देउखुरी र नाम लुम्बिनी राख्न संसदमा प्रस्ताव दर्ता भएको छ।

राजधानी बुटवलबाट दाङ सार्न नेकपाकै कतिपय सांसद मानेका छैनन्। विपक्षी नेपाली कांग्रेसले आन्दोलन गरिरहेको छ।

रूपन्देही, कपिलवस्तु, पाल्पालगायत जिल्लाका नेकपा सांसदले पनि राजधानी सार्ने विषयमा असन्तुष्टि जनाएका छन्। शनिबार पाँच घण्टा यसबारे उनीहरू छलफलमा जुटेका थिए।

शनिबार केही निर्णय नभएपछि आज पुन: नेकपा संसदीय दलले बैठक राखेको हो।

प्रदेशका मन्त्री तथा सांसदसँग छलफल नगरी राजधानी र नाम सिफारिस गरेकोमा मुख्यमन्त्री शंकर पोखरेलको विरोध भइरहेको छ। राजधानी र नाम सिफारिसका लागि गठित समितिले दिएका विकल्प लत्याएको मुख्यमन्त्रीमाथि आरोप छ।

सरकारले संसदमा दर्ता गरेको प्रस्तावमा पुनर्विचार गर्न कतिपय नेकपा सांसदहरू र स्थानीय तहहरूबाट नै माग भइरहेको छ।

प्रदेश सभामा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले सदस्यहरुका राय सुझावमाथि छलफल गर्न बाँकी रहेकोले बिहानै बैठक बोलाएको जानकारी दिए।

‘आज दिउँसो प्रदेश सभा बैठक छ। त्यही भएर पनि संसदीय दलमा सांसदहरूबीच छलफल गर्न अहिले बैठक गरिएको हो,’ उनले भने।

प्रदेश राजधानीबारे आज दिउँसो प्रदेशसभा बैठकमा छलफल हुनेछ। छलफलपछि मतदान भएमा पारित गर्न दुईतिहाइ मत चाहिन्छ।

दाङमा राजधानी बनाउने विपक्षमा नेकपाका १४ सांसद छन्। नेकपाले दाङकै पक्षमा ह्वीप जारी गर्ने सम्भावना छ।

यसअघि ह्वीप लगाउन सक्ने निर्णय गरे पनि नेकपाले राजधानी र नामबारे ह्वीप जारी गर्ने जानकारी सांसदहरुलाई गराएको छैन।  

प्रदेश राजधानीबारे आज दिउँसो प्रदेशसभा बैठकमा छलफल हुनेछ। छलफलपछि मतदान भएमा पारित गर्न दुईतिहाइ मत चाहिन्छ।

दाङमा राजधानी बनाउने विपक्षमा नेकपाका १४ सांसद छन्। नेकपाले दाङकै पक्षमा ह्वीप जारी गर्ने सम्भावना छ।

यता गए राति मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा नेपाली कांग्रेसका कार्यकर्ताले ढुुंगामुढा गरेपछि आज सुरक्षा व्यवस्था अझ कडा पारिएको छ । 

संसद भवन बाहिर ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ भने मुख्य चोक तथा मन्त्रालयहरुमा पनि सुरक्षा सर्तकता बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति: : 2020-10-05 08:32:42

प्रतिकृया दिनुहोस्