मुख्यमन्त्री सवार गाडी तोडफोड, कांग्रेसका ९ नेता–कार्यकर्ता पक्राउ

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा आन्दोलनकारीले ढुंगा प्रहार गरेका आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौंबाट भैरहवा विमानस्थल आएका मुख्यमन्त्री कडा सुरक्षाबीच बुटवल आउँदै गर्दा बुटवलको राजमार्ग चौराहानजिक उनको गाडीलाई लक्षित गरेर ढुंगा प्रहार भएको हो। 

उक्त घटनामा संलग्न ९ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले बताए। 

पक्राउ पर्नेमा कांग्रेस रुपन्देही जिल्ला समिति सदस्य तथा प्रदेशसभा सदस्यका उमेदवार विष्णु पोखरेल, नेविसंघ केन्द्रीय उपसभापति मुक्ति पौडेल, तिलोत्तमा कांग्रेस सभापति हरिलाल पाण्डे, तिलोत्तमा कांग्रेसका सचिव शिव गैरे, तरुण दलका प्रकाश गैरे, तिलोत्तमा उद्योग वाणिज्य संघका ज्ञानेन्द्रबहादुर कार्की रहेका छन्। 

नियन्त्रणमा लिएकाहरुलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ। 

मुख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार भएको र मुख्यमन्त्री पोखरेल सामान्य घाइते भएको जनाइएकाे छ।

मुख्यमन्त्री सवार गाडी र मुख्यमन्त्रीको स्कर्टिङ गर्ने २ वटा गाडीमा क्षति भएको प्रहरीले बताएकाे छ। तर, कति क्षति भयो भन्ने यकिन छैन।

प्रदेश ५ को स्थायी राजधानी सार्ने प्रस्ताव प्रदेश सभामा दर्ता गरेको छ। मुख्यमन्त्री शनिबार बिहान पार्टी बैठकपछि काठमाडौं आएका थिए।

आइतबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा महासचिव विष्णु पौडेलले प्रदेश ५ को राजधानी दाङको भालुवाङ राजधानी र लुम्बिनी नाम राख्ने निर्णयमाथि पुनर्विचार गर्न पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड समक्ष माग गरेका थिए।

तर मुख्यमन्त्री पोखरेलले राजधानी दाङमै राख्नुपर्ने अडान लिएका थिए। उनले सोमबारदेखि चल्ने प्रदेशसभाको छलफलमा पनि आफ्ना भनाइ सभ्य भाषामा राख्न र मतदान प्रक्रियामा सहभागी हुन सबैलाई अग्रह गरिसकेका छन्। 

सदनमा पेश गरेको प्रस्तावप्रति असन्तुष्ट पक्षले रुपन्देही बन्दका कार्यक्रमसहित प्रदर्शन जारी राखेका छन्।

प्रकाशित मिति: : 2020-10-04 22:11:15

प्रतिकृया दिनुहोस्