सर्वोच्च अदालतका न्यायाधीश भण्डारीमा कोरोना पुष्टि, उनी ‘फुलकोर्ट’ मा सहभागी भएकाले कम्तिमा एक साता अदालत प्रभावित हुने

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीमा कोरोना संक्रमण पुष्टि भएपछि अदालतभित्र कोकोहोलो मच्चिएको छ । न्यायाधीश भण्डारीमा शुक्रबार कोरोना भाइरस पोजेटिभ पुष्टि भएको हो ।

न्यायाधीश भण्डारीसँगै अर्का एक जना बेञ्च असिस्टेन्टलाई पनि संक्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियनका सचिवमा पनि कोरोना संक्रमण पुष्टि भइसकेको सर्वोच्च अदालत स्रोतले जानकारी दियो । 

न्यायाधीश भण्डारीमा संक्रमण भएपछि यसबीचमा उनीसँगै इजलाश साझेदारी गरेका र बुधबारको ‘फुलकोर्ट’ मा सहभागी सबै न्यायाधीशहरू ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका छन् । उनीसँग इजलाश साझेदारी गरेका न्यायाधीशहरु सशंकित भएका छन् ।
त्यसबाहेक सर्वोच्च अदालतमा हरेक बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले ‘फुलकोर्ट’ राख्ने गरेका छन् । ‘फुलकोर्ट’ मा सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी थिए । 

न्यायाधीश भण्डारीमा कोराना पुष्टि हुनुअघि बुधबारको ‘फुलकोर्ट’ बैठकमा सहभागी भएको स्रोतले जानकारी दियो । त्यसैले कम्तिमा एक साता सर्वोच्च अदालतका काम–कारवाही प्रभावित हुने भएका हुन् । 

अदालतमा विचाराधीन मुद्दामध्ये बुधबारका लागि पेशी तोकिएको नेकपा उपाध्यक्ष वामदेव गौतमको राष्ट्रियसभा सदस्यमा मनोनयनसम्बन्धी मुद्दा सार्वजनिक चासोको मुद्दा हो । यो पनि पछि धकेलिने निश्चितप्रायः छ । 

सर्वोच्च अदालतको मूलढोकादेखि नै प्रहरीको सुरक्षा घेरा हुन्छ । त्यसैले अदालतभित्र देखिएको संक्रमणले सुरक्षाकर्मी मात्र होइन, कानून व्यवसायीहरु पनि ठूलो संख्यामा संक्रमित भएको आशंका छ । 

त्यसबाहेक सर्वोच्च अदालतको आधिकारिक ट्रेड यूनियनको निर्वाचन आइरहेको छ । भोट माग्न सक्रिय वर्तमान सचिव र एक जना बेञ्च असिस्टेन्टलाई नै कोरोना पुष्टि भएकाले कर्मचारी वृत्तमा पनि यो व्यापक भइसकेको आशंका बढेको छ ।

सर्वाेच्च अदालतद्वारा आइतबार जारी विज्ञप्तीमा भने कति जना न्यायाधीश र कति जना कर्मचारी कोरोनाबाट संक्रमित भएका हुन भन्नेबारे भने केही खुलाइएको छैन् ।

सर्वाेच्च अदालतका न्यायाधीस र केही अधिकृत तथा अन्य कर्मचारीहरुमा कोरोना संक्रमण भएको छ । सर्वाेच्च अदालतले विज्ञप्ती निकालेर संक्रमित न्यायाधीश र कर्मचारीहरु होम क्वारेन्टाइनमा रहेको जानकारी दिएको हो । 

हेर्नुस् : सर्वाेच्च अदालतद्वारा आइतबार जारी विज्ञप्ति  

प्रकाशित मिति: : 2020-10-04 16:17:52

प्रतिकृया दिनुहोस्