पहाडमा घट्ट चलाउने, तराईँमा जुत्ता बनाउँने वृद्ध दम्पति

बिएल मिडियाले सुरू गरेको भूई मान्छे   शृंखलामा हामीले यसअघि तीन वटा आलेखहरू प्रकाशन गरिसकेका छौ। यदि छुटाउनु भएको छ भने यहाँ प्रस्तुत गरिएको छ। बाँकेको कोहलपुरबाट हाम्रा संवाददाता अछुत कोपिलाले तयार पारेको शृंखलाको छैठौं भागमा आज हामी  सुर्खेतका सार्की  दम्पत्तिको कथा प्रस्तुत गरेका छौ। -सम्पादक।

भूई मान्छे –६   पुर्ख्यौली घर सुर्खेत भएका धनसिंह सार्की (६०) ले जुत्ता बनाउन थालेको १२ वर्ष भयो। यो अवधिसम्म उनले धेरैका खुट्टाका साइज नापे। आकार दिए।  फरक–फरक डिजाइनमा असंख्य जुत्ता बनाए। कहिले छाला काटे त कहिले जोडे। यसमा उनी एक्ला भने छैनन्। 

‘श्रीमान–श्रीमती भनेको एउटै रथका दुई पांग्रा हुन्’ भनेझैं जिन्दगी रूपि रथका एक पांग्रा हुन्, मन्धुरी सार्की (६२)। उनी पनि यस कार्यमा सँगै सहकार्य गरिरहेकी छिन्।   

उनीहरुले लामो समयदेखि जुत्ता मर्मतलाई मुख्य आम्दानीको स्रोत बनाएका छन्। सरकारले दिएको वृद्धा भत्ता थापेर बस्ने उमेरमा उनीहरू दैनिक सरदर ८ घण्टा सक्रिय रुपमा काममा व्यस्त हुन्छन्। धनसिंह जुत्ताको डिजाइन् गर्छन्, मन्धुरीले सिलाउने र बुट्टा हाल्ने काम गर्छिन्। 

नेपालगञ्ज–कोहलपुर सडक खण्ड। त्रिभूवन नमूना माद्यमिक विद्यालय नजिकै अस्थायी प्रहरी चौकी छ। दायाँ पट्टी १० मिटरको सडक छेउ मै छ ‘सुर्खेती जुत्ता चप्पल मर्मत  सेन्टर।’ हरेक दिन सार्की दम्पति  हमेशा काममा तल्लिन हुन्छ। 

 मन्धुरी भन्छिन्, ‘यो काम गर्न थाल्याको धेरै भयो। जति बेला यहाँ आएका थियौँ । त्यति नै भयो ।’ १२ वर्ष अघि सुर्खेतको मटेलाबाट कोहलपुर झरेका थिए। केही वर्षपछि बसाइँसराइ गरेर यतै स्थायी रुपमा बस्न थाले। 

‘यहाँ आएपछि आम्दानीको स्रोत थिएन। जुत्ता सिलाउने काम शुरू गरे। धेरै वर्ष यहाँका सडकमा बसेर जुत्ता सिलायौं। अहिले सटर भाडामा लिएर जुत्ता मर्मत गर्छौं,’ धनसिंहले भने। उनीहरू आठ छोराछोरीका आमाबाबा समेत हुन्। उनीहरुका तीन छोरा र पाँच छोरी छन्। ती सबैलाई दुबैले कहिले घट्ट चलाएर त कहिले सडक छेउमा जुत्ता सिलाएर हुर्काए बढाए। उनका अनुसार कान्छी छोरी यो भदौमा २० वर्ष लागिन्। आफ्नो परिवारको मुख्य आम्दानीको स्रोत नै यही काम भएको उनले बताए।  सुर्खेतमा हुँदा उनीहरू बाँच्नकै लागि घट्ट चलाउँथे। अहिले बाँकेमा जुत्ता चप्पल मर्मत गरेर जिविकोपार्जन गरिरहेका छन्। यो पेसामा यी वृद्ध दम्पतिमा मात्रै सीमित छैनन्। धनसिंहका जेठो छोरा बैजनाथ सम्झना बजारमा जुत्ता चप्पल मर्मत गर्ने काम गर्छन्। 

माहिलो छोरा भारतमा मजदुरी गर्छन्।  साहिँलो छोरा विदेशमा छन्। चार जना छोरीले विवाह गरिसके। अहिले उनीहरुसँग कान्छी छोरी मात्रै छिन्। उनीहरुको बुढेस कालको साहरा उनै हुन्। 

मन्धुरी भन्छिन्, ‘सबै आफ्नो खुट्टामा उभिएका छन्। काम गरिरहेका छन्। हामी बुढाबुढी यहाँ दुःख गरिरहेका छौं। थकाई लाग्छ। काम गर्न मन लाग्दैन। के गर्ने बाँच्नै पर्‍यो।’ 

यो उनको रहर होइन बाध्यता हो। श्रीमान थप्छन्, ‘बुढेसकालामा दुःख गर्ने रहर कसलाई हुन्छ? भोको पेट पाल्न यस्तो काम गरिरहेका छौं। हेरौं कहिलेसम्म सकिन्छ काम गरौंला।’ 

बुढो शरीरले आराम मागिरहेको छ। भोको पेट मान्दैन। भोक मेटाउन कै लागि भए पनि दैनिक लागिरहनु परेको छ। पहिले देखिकै सीप भएका कारण बुढेसकालमा अरूलाई हात थाप्न परेको छैन। जुत्ता सिलाउने काम किशोरास्था देखिनै  आफूले सिकेको उनको भनाइ छ । 

धनसिंहका हजुरबाबा  गाउँमा जुत्ता सिलाउने काम गर्थे। उनका बाबाले पनि त्यहीँ पेसा अंगाले। आफूले जुत्ता सिलाउने काम शुरु गरेको चार दशक बढि भइसकेको उनले बताए। ‘पहाडमा हुँदा खेती किसानी गरियो। ठूलो परिवार भएकोले कहिल्यै पुगेन। परिवार चलाउन निकै हम्मेहम्मे हुन्थ्यो। यहीँ पेट पाल्न कै लागि कहाँ पुगेनौं र?,’ उनीहरुको सामुहिक स्वर।

उनीहरुले गाउँमै अर्काको घरमा काम गरेर जीवन चलाए। खेती किसानी र अरूको घरमा काम गर्दा पनि पुगेन। पछि रोजगारीको लागि भारत छिरे। त्यहाँ उनीहरु पाँच वर्ष भन्दा बढि बसे। कान्छी छोरी उतै जन्मेकी हुन्। उनका अनुसार  २०६५ साल तिर पहाडमा भएको श्रीसम्पति बेचेर तराईमा बसाइँ सरेको हो। 

नयाँ ठाउँ। नयाँ परिवेश। केही पनि थाहा थिएन। कोहलपुरको सुकुम्बासी बस्तीमा पनि उनीहरु बसेका थिए। हातमा सीप भएकोले होला उनीहरुलाई जहाँ गए पनि भोकभोकै बस्नुपर्ने अवस्था  कहिल्यै आएन। पहिलेदेखि नै चुत्ता सिलाउन सिकेकोले आफूहरुलाई जिउन सजिलो भएको उनीहरु बताउँछन्। 

अहिले उनीहरुले कोहलपुरमा चार कोठे घर बनाएका छन्। आफैं जुत्ता मर्मत गर्छन्। ‘पहिले दैनिक सातदेखि दश जोर जुत्ता र चप्पल पनि बनाइन्थ्यो। पछिल्लो समय  मुस्किलले  दिनमा दुई जोर जुत्ता बनाउन सकिन्छ। आँखा पनि कमजोर हुँदै गए।  काम गर्न जाँगर पनि त्यति लाग्दैन,’ बिएल नेपाली सेवासँग कुराकानीमा उनीहरुले आफ्ना भोगाइ यसरी राखे। 

कमाई राम्रो थियो पहिले। कोरोनाका कारण केही महिनायता भने समस्या भएको छ। चार महिना त लकडाउनका कारण बन्द गर्नुपर्‍यो। पहिलाको जस्तो राम्रो व्यापार छैन। अलिअलि कमाई भइरहेको छ। दैनिक बढिमा चार चोरसम्म जुत्ता मर्मत गर्न सकिने उनको भनाइ छ। प्रतिजोर कम्तिमा १५ सय रूपैयाँ मूल्य पर्छ। नियमित बिक्रि भयो भने ठिकै हुने गरेको उनले बताए।  

आम्दानीको मूख्य माध्यम नै यही हो। कमाई ठ्याक्कै यति हुन्छ भन्ने छैन। दैनिक आवश्यकता पूर्ति गर्नुका साथै अन्य काम भने यहीँबाट चलेको छ। उनीहरूमा अझै पनि काम गर्ने हुटहुटी मरेको छैन। 

सार्की दम्पति भन्छन्, ‘काम गर्ने मान्छे भोको कहिल्यै मर्दैन। काम गरिखाने मान्छे सानो पनि कहिल्यै हुँदैन। हाम्रा पूर्खाले यस्तै काम गरे। हामीले गरिरहेका छौं। सकुञ्जेल यही काम गरिरहनेछौं।’ 

जुत्ता सिलाएर पनि  संघर्षशील तर खुसी जिन्दगी जिउन सकिन्छ भन्ने उदाहरण उनीहरुले प्रस्तुत गरेका छन्। 

प्रकाशित मिति: : 2020-10-04 11:33:44

प्रतिकृया दिनुहोस्