दाङको भालुवाङ प्रदेश-राजधानी बनाउने पक्षमा मतदान गर्न नेकपा संसदीय दलले जारी गर्‍याे ह्वीप

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ संसदीय दलले दाङको भालुवाङ राजधानी र लुम्बिनी नाम राख्ने प्रदेश सरकारको प्रस्तावलाई समर्थनसहित मतदान गर्ने निर्णय गरेको छ । 

प्रदेश ५ संसदीय दलको शनिबार बसेको बैठकमा १४ सांसदहरुले असन्तुष्टिसहित नोट अफ डिसेन्ट लेखेपनि पार्टी निर्णयअनुसार मदतान गर्न सहमत भएका हुन् ।

बैठकमा नेकपाका प्रदेशसभा सदस्यले आफ्ना असन्तुष्टि राखे पनि मतदानका क्रममा सरकारको प्रस्तावलाई समर्थन गर्ने निर्णय बैठकले गरेको हो । प्रदेश ५ सरकारले शुक्रबार प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको राप्ती किनार क्षेत्र भालुवाङ–देउखुरीमा राख्ने प्रस्ताव पारित गरेको थियो ।

शुक्रबार नै सरकारको प्रस्ताव प्रदेशसभामा छलफलका लागि पेस भएको छ । सोमबारदेखि चल्ने प्रदेशसभाको छलफलमा पनि आफ्ना भनाइ सभ्य भाषामा राख्न र मतदान प्रक्रियामा सहभागी हुँदा सरकारको निर्णयको पक्षमा गर्न मुख्यमन्त्री एवं संसदीय दलका नेता शंकर पोखरेलले निर्देशन दिएका छन् । 

बैठकमा नेकपाका ६१ मध्ये ५७ प्रदेशसभा सदस्य उपस्थित थिए । उपस्थितमध्ये २१ जनाले आफ्नो धारणा राखेका छन । बोल्नेमध्ये तत्कालीन राप्ती र भेरी अञ्चल क्षेत्रका प्रदेशसभा सदस्यले सरकारको निर्णयको स्वागत गरेका थिए । रूपन्देही र कपिलस्तुका प्रदेशसभा सदस्यले सरकारको निर्णय फिर्ता हुनुपर्ने माग गरेका थिए ।
रूपन्देहीका प्रदेशसभा सदस्यले पूर्वाधार सम्पन्न भएको स्थानबाट पूर्वाधार नै नभएको र बस्ती बसाल्न पनि वर्षौं लाग्ने स्थानमा स्थायी राजधानी तोक्नु दुर्भाग्य भएको बताउँदै निर्णय फिर्ताको माग गरे । कपिलवस्तुका प्रदेशसभा सदस्यले कपिलवस्तुमै हुनुपर्ने माग गरेका थिए ।

सबैको भनाइ सुनेपछि नेकपा संसदीय दलका नेता एवम् मुख्यमन्त्री पोखरेलले भने, 'सरकारले ७ प्रदेशमध्ये नमुना राजधानी बनाउने सरकारको संकल्पका साथ नयाँ स्थान प्रस्ताव गरिएको छ । त्यसमा समर्थन गर्दा कुनै पनि सदस्यले पछुतो मान्नुपर्ने अवस्था  आउने छैन । हामी दीर्घकालीन सोचका साथ अघि बढ्न खोज्दै छौं ।  त्यसमा समर्थन गर्नु सबै माननीयको दायित्व हो ।’ 

मुख्यमन्त्री पोखरेलले प्रस्तावलाई निर्णय प्रक्रियामा लैजाँदा सबैले सरकारको निर्णय कार्यान्वयन गर्ने गरी मतदान गर्ने निर्णयसहितको ह्वीपसमेत जारी गरे । प्रदेश ५ मा नेकपाको ६१, विपक्षी नेपाली कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ सहित ८७ जना सभासद्हरु रहेका छन् ।

प्रकाशित मिति: : 2020-10-04 08:24:21

प्रतिकृया दिनुहोस्