बुटवलबाट राजधानी सारेर नेकपाका शक्तिशाली नेतालाई मुख्यमन्त्री पोखरेलको चुनौती, कांग्रेसले गर्न खोज्यो भोटको राजनीति

प्रदेश नम्बर ५ को प्रदेश–सरकारले आफ्नो स्थायी राजधानी मुख्यमन्त्री शंकर पोखरेलको गृहजिल्ला पर्ने भालुवाङसहितको क्षेत्रलाई समेटेर बनाउने प्रस्ताव प्रदेशसभामा शुक्रवार दर्ता गरेसँगै रुपन्देहीको राजनीतिक भविष्यलाई लक्ष्यित गरी कांग्रेसले लाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यसविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

 नेकपा महासचिव विष्णु पौडल, एमाले पूर्व उपमहासचिव एवम् संघीय कृषिमन्त्री नश्याम भुसालसहितका नेताहरुको गृहजिल्ला रुपन्देही हो । त्यसबाहेक नेकपा स्थायी कमिटी सदस्यहरु परराष्ट्रमन्त्री  प्रदीप ज्ञवाली (गुल्मी), छविलाल विश्वकर्मा (रुपन्देही), टाेपबहादुर रायमाझी (अर्घाखाँची) पनि बुटवलकै पक्षमा थिए । 

अस्थायी राजधानी हटाएर दाङमा प्रदेश राजधानी बनाउने निर्णयसँगै कांग्रेसले आन्दोलन घोषणा गरेको हो । यसले बुटबल, पाल्पा लगायतको क्षेत्रमा नेकपालाई तत्कालीन राजनीतिमा अप्ठेरो पर्ने भएको छ । 

साविक माओवादीले सशस्त्र द्वन्द्वकालमै दाङलाई राजधानी बनाउने अनौपचारिक घोषणा गरेको दुई दशकपछि प्रदेश राजधानीको प्रस्ताव भएको हो । यो निर्णयले मुख्यमन्त्री शंकर पोखरेललाई भने चुनावी राजनीतिमा लाभ हुने छ । पोखरेलले नेकपा अध्यक्षद्वयको सल्लाहमा  उक्त पहल अघि बढाएको अनुमान गरिएको छ। 

रुपन्देहीका कांग्रेसले विरोध गरे पनि दाङका कांग्रेस भने यसको पक्षमा देखिएका छन् । यसले जहाँ राखे पनि स्थानीयले समर्थन र नपाउनेले विरोध हुने गरेको यथार्थलाई यहाँ पनि सतहमा ल्याएको देखिन्छ। 

भौतिक पूर्वाधार र ठूलो बनिबनाउ शहरका हिसाबले बुटवल राजधानी देखिए पनि प्रदेशका जनसंख्यालाई भौगोलिक सुगमताका हिसाबले भालुवाङ पायक पर्ने देखिन्छ । यस हिसाबले पोखरेलको राजधानी पहलमा भोटको राजनीतिका हिसाबले विरोध गरेजस्तो देखिए अन्ततः यो नै कायम हुनसक्ने प्रवल संभावना छ । 

प्रदेश ५ मा १२ जिल्ला छन् । नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, दाङ, प्युठान, रोल्पा, रुकुम (पूर्व) बाँके र बर्दिया पर्छन् । भौगोलिक सुगमताका हिसाबले दाङको भालुवाङ राजधानी सबै जिल्लालाई पायक पर्ने गरी प्रदेशको बीतमा रहेको छ ।

बाँके, बर्दिया, रुकुम, रोल्पा र प्युठानबासीलाई भालुवाङ बुटवल भन्दा पायक पर्छ । अर्घाखाँची, कपिलवस्तु र प्युठानको सीमाक्षेत्रमा रहेको दाङको भालुवाङ नवलपरासी (पश्चिम), पाल्पा, गुल्मीलाई मात्र यो बुटवलभन्दा अपायक हुनेछ । 

नेकपा नेता घनश्याम भुसालसँग एकै क्षेत्रबाट चुनाव लड्ने कांग्रेस नेता बालकृष्ण खाँड भौतिक पूर्वाधार, केन्द्रीय राजधानी काठमाडौं आवागमनमा सहजता, भैहरवा अन्तरराष्ट्रिय विमानस्थल र सुरक्षाका हिसाबले बुटवल उपयुक्त हुने तर्क गर्छन्, जुन विशुद्ध भोटको राजनीति गर्न खोजेको देखिन्छ । 

नेकपा महासचिव विष्णु पौडेल र कृषिमन्त्री घनश्याम भुसाललगायत नेताहरु पनि बुटवललाई नै स्थायी राजधानी बनाउने पक्षमा लागिपरेका थिए । यिनै नेतासहित कांग्रेस नेता खाँडसमेतको प्रभावमा अस्थायी राजधानी बुटवल ल्याइएको थियो । नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र कर्यकारी अध्यक्ष प्रचण्डले दाङलाई राजधानी बनाउने निर्णय गर्न मुख्यमन्त्री पोखरेललाई सहमति दिइसकेपछि नेकपा यसैको पक्षमा रहने छन् । 

मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पोखरेल सुरुदेखि नै राजधानी दाङमा राख्नुपर्ने पक्षमा थिए । एमालेसँग पार्टी एकता हुनुभन्दा पहिले नै तत्कालीन नेकपा माओवादी केन्द्रले प्रदेश ५ को राजधानी दाङमा राख्नुपर्ने औपचारिक निर्णय नै गरिसकेको थियो । माओवादी नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मासहित सिंगै साविक माओवादी दाङकै पक्षमा एकमत थिए । 
 

प्रकाशित मिति: : 2020-10-02 21:41:00

प्रतिकृया दिनुहोस्