नेपाल-भारत हवाई उडान कात्तिक १ देखि खोल्ने प्रस्ताव सीसीएमसीमा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतका लागि हवाई उडान  सुरु गर्न प्रस्ताव गरेको छ। 

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा मन्त्रालयले आगामी १ कात्तिकबाट भारतको उडान खोल्न प्रस्ताव पठाएको मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले जानकारी दिए।

नजिकिएको दशैं, भारतमा उपचार र अध्ययनका लागि जानु पर्ने वा त्यहाँबाट फर्कनु पर्ने ठूलो संख्यामा नेपाली हवाई उडान खुल्ने मितिको प्रतिक्षामा छन्।

१ कात्तिकमा उडान खोल्नेबारे प्रस्ताव सीसीएमसीबाट पास भएमा यो निर्णय मन्त्रिपरिषदमा जाने छ। मन्त्रिपरिषदले पास गरेपछि मात्र भारतका लागि उडान खोल्ने औपचारिक निर्णय हुनेछ।

भारतमा उडान खुलेपनि नेपाल आउने नागरिकका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड भने अन्य गन्तब्य सरह हुनेछन्।

प्रस्तावअनुसार नेपाल आउन चाहने यात्रुसँग बढीमा ७२ घण्टा अगाडीसम्मको पीसीआर परीक्षण नेगेटिभ भएको प्रमाण हुनुपर्छ। एउटै जहाजबाट नेगेटिभ र पोजेटिभ रिपोर्ट भएका यात्रु ल्याउन पाइने छैन।

त्यसरी आएमा सबै होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ। पीसीआर नेगेटिभ भएका नेपालीको हकमा १४ दिन होम  क्वारेन्टाइनमा बस्नु पर्नेछ। 

प्रकाशित मिति: : 2020-10-02 13:50:38

प्रतिकृया दिनुहोस्