राेकिएन उत्तर प्रदेशमा बलात्कारकाे सिलसिला: फेरि अर्की दलित युवती सिकार, मुख्यमन्त्रीकाे राजीनामा माग

भारतको उत्तर प्रदेशमा लगातार सामूहिक बलात्कारपछि हत्याका घटना भइरहेका छन्। हाथरसमा सामूहिक बलात्कारको घटना सेलाउन नपाउँदै उत्तर प्रदेशकै बलरामपुरमा एक दलित युवतीको सामूहिक बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ। 

युवतीका परिवारका सदस्यले बलरामपुर प्रहरी चौकीमा सामूहिक बलात्कारपछि हत्या भएको उजुरी दिएका छन्।

प्रहरीका अनुसार तहरीरमा २२ वर्षकी युवती एक निजी फर्ममा काम गर्थिन्। मंगलबार कामबाट राति अबेरसम्म पनि फर्किइनन्।

परिवारका सदस्यले फोन सम्पर्क गर्ने प्रयास गरे। तर भएन। केही समयपछि युवती रिक्सामा आइन्, उनको अवस्था निकै खराब थियो। परिवारले उनलाई तत्काल अस्पताल लैजाँदै थिए, बाटोमै मृत्यु भयो।

परिवारका सदस्यले उजुरीमा दुई युवकको नाम किटान गरेको प्रहरीले जनाएको छ। प्रहरीले दुवै अभियुक्तलाई पक्राउ गरेको छ। परिवारका सदस्यहरुले ट्वीटमार्फत उजुरी गरेका थिए। 

पक्राउ गरिएकाे अभियुक्तमाथि अनुसन्धान जारी रहेको र घटनामा संलग्न अन्य अभियुक्तहरुकाे खाेजि भइरहेकाे प्रहरीले जनाएको छ।

मिल्दाेजुल्दाे हाथरस सामूहिक बलात्कार

उत्तर प्रदेशको हाथरसमा सामूहिक बलात्कारको शिकार भएकी २० वर्षकी दलित युवतीको गएको सोमबार राति दिल्लीको सफदरजंग अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

पीडित युवतीलाई बेहोस अवस्थामा सुरुमा स्थानीय सामुदायिक स्वास्थ्य केन्द्रमा लगियो। त्यहाँबाट अलीगढ मेडिकल कलेजमा रेफर गरियो। मेडिकल कलेजमा १३ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरियो। सोमवार थप उपचारका लागि सफदरजंग अस्पताल लगियो। जहाँ उनले अन्तिम श्वास लिइन्।

आमा र दाइ–भाइसँग घाँस काट्न गएका बेला ती युवतीमाथि सेप्टेम्बर १४ मा सामूहिक बलात्कार भएको हो।

आफूहरुले घाँस काटिरहेकी युवतीलाई तानेर स्थानीय युवकहरुले सामूहिक बलात्कार गरेको आरोप छ। बेहोस अवस्थामा युवतीलाई आमाले भेटेकी थिइन्।

पीडितका भाईले भनेका छन्, ‘दिदी, आमा र दाई घाँस काट्न गएका थिए। भाई घाँस लिएर पहिल्यै घर फर्कियो। आमा अगाडि घाँस काटिरहेकी थिइन्, दिदी अलि पछाडि थिइन्। दिदीलाई तानेर उनीहरुले बलात्कार गरे। बेहोस अवस्था आमाले फेला पारिन।’ 

बलात्कारीले उनीमाथि निर्मम कुटपिट गरेका थिए। मर्‍यो भनेर छोडेर गएका थिए। पीडितका भाईले भनेका छन्, ‘दिदीको जिब्रो काटिएको थियो। कम्मरको हड्डी भाँचिएको थियो। शरीरको एक भाग काम गरिरहेको थिएन। बोल्न सकिरहेकी थिइन्। कुनै प्रकारको इशारा मात्र गरिरहेकी थिइन्।’

घटनाका अभियुक्त चारजनालाई पक्राउ गरिएको हाथरस प्रहरीले जनाइसकेको छ। 

प्रहरीले उनीहरुमाथि सामूहिक बलात्कार र हत्याको मुद्दा लगाएको छ। मृतकको परिवार र आरोपितका परिवारबीच लामो समयदेखि रिसइबी रहेकाे प्रहरीले जनाएकाे छ। र, उनीहरुलगायतका गाउँका अन्य दलित परिवारमाथि जातीय भेदभाव र दुव्र्यवहार हुँदै आएको पनि बताएकाे छ।

हाथरसका एसपी विक्रांत वीरले चारै अदालतसँग फास्ट ट्रयाक सुनवाईको माग गर्ने बताए। पीडित परिवारलाई गाउँमा सुरक्षा पनि दिइएको एसपी वीरले जानकारी दिए।

परिवारको स्वीकृति बिना अन्तिम संस्कार 

हाथरस सामूहिक बलात्कारपछि मारिएकी युवतीको परिवारको स्वीकृति बिना अन्तिम संस्कार गरिएपछि अहिले भारतभर विरोध चर्किएको छ। 

सेप्टेम्बर ३० को बिहान साढे दुई बजे सामूहिक बलात्कार पीडित युवतीको अन्तिम संस्कार गरिएकाे थियाे। आधा रातमा अन्तिम संस्कार गरेको घटना सार्वजनिक भएपछि मुख्यमन्त्री योगी आदित्यनाथ सरकारको राजीनामा माग भइरहेकाे छ।

अन्तिम संसकारकाे बेला उपस्थित रहेका पत्रकारहरुले प्रहरीले जरबजस्ती अन्तिम संस्कार गरेको बताएका छन्। 

त्यो बेला उपस्थित रहेका पत्रकार तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो तथा तस्वीरहरु पनि बाहिर आएका छन्। 

भिडियोमा २०० जति उपस्थित प्रहरी देखिन्छ। प्रहरीले स्थानीयलाई गाली गरेको, कुटेको तथा पीडित परिवारलाई पनि गाली गरिरहेको सुनिन्छ।

भिडियोमा पीडितकी आमाले छोरीको शव एक पटक घर लैजान प्रहरीसँग मागेको पनि देखिन्छ। तर पीडितको अन्तिम संस्कार घरपारिवारले चाहेको वा भनेको रीतिरिवाज अनुसार नभएको पत्रकारहरुले बताएका छन्।

यसैमाथि बलरामपुरमा सामूहिक बलात्कारपछि हत्याको अर्को घटना सार्वजनिक भएपछि आन्दाेलन थप चर्किने अनुमान गरिएकाे छ।

पीडितको न्यायको लागि आजाद समाज पार्टीका नेता चन्द्रशेखरको नेतृत्वमा दिल्लीस्थित सफदरजंग अस्पताल परिसरमा प्रदर्शन भएको छ। उनीहरु धर्नामै बसेका थिए। चन्द्रशेखरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको विरोधमा भारतका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ। कलाकारदेखि आम नागरिकले अभियुक्तलाई फाँसीको माग गरेका छन्। 

यता राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय महिला आयोगले उत्तर प्रदेश प्रहरीलाई हाथरस सामूहिक बलात्कारको घटना र आधी रातमा अन्तिम संस्कार गरिएको बारे स्पष्ट जानकारी दिन नोटिस जारी गरेको छ।

प्रहरीले जबरजस्ती मध्यरातमा पीडितको अन्तिम संस्कार गरेको घटनापछि विपक्षी दल तथा प्रहरीका पूर्व अधिकारीले उत्तर प्रदेश प्रहरीको आलोचना गरिरहेका छन्। प्रहरीले वक्तव्य जारी गरेर प्रहरीको रेखदेखमा परिवारका सदस्यले अन्तिम संस्कार गरेको दाबी गरेको छ।

मुख्यमन्त्रीकाे राजीनामा माग

केही महिनायता उत्तरप्रदेशमा बलात्कारका घटना उल्लेख्य संख्यामा बढेको देखिन्छ। उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले ट्वीट गरेर दुवै घटनाको निन्दा गर्दै राजीनितक दलले घटनाकाे ढकछाेप गर्न नमिल्ने बताएका छन्। 

‘भाजपा सरकारले बलरामपुरमा हाथरस जस्तो लापरवाही र ढाकछोप नगरोस्, अपराधिलाई कारवाही होस्,’ उनले लेखेका छन्। 

यस्तै आम आदमी पार्टीका नेता सञ्जय सिंहले मुख्यमन्त्री आदित्यनाथको राजीनामा मागेका छन्।

कांग्रेस अध्यक्ष सोनिया गान्धीले पनि भिडियो जारी गर्दै यूपी सरकारमाथि आक्रोश पोखेकी छिन्। उनले युवतीको शव परिवारलाई हस्तान्तरण नगर्नु पाप भएको बताएकी छिन्। 

यस्तै उनले सरकारप्रति प्रश्न खडासमेत गरेकी छिन्।

‘आज देशका करोडौं मानिस दुःखी र क्रोधित छन्। ती युवतीसँग गरेको अपमान हाम्रो समाजमा कलंक हो। म यो सोध्न चाहन्छु कि युवती हुनु के अपराध हो? के यो गरिब युवती हुनु अपराध हो? यूपी सरकार के गर्दै छ? पीडितको परिवारले न्यायको लागि माग गरेको कुरा हप्तौंसम्म सुनिएन। सम्पूर्ण कुरालाई दबाउने प्रयास गरिरहेका छन्,’ गान्धीले भने।

यता कांग्रेस महासचिव प्रियंका गान्धीले पनि मुख्यमन्त्री आदित्यनाथको राजीनामा माग गरेकी छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत एक पोस्ट शेयर गर्दै राजीनामाको माग गरेकी हुन्। 

‘यूपीमा कानुन व्यवस्था निकै नै खराब भइसकेको छ। महिलाहरुको सुरक्षा रत्तिभर छैन। अपराधी खुलेआम हिँडिरहेका छन्। हत्याराले कडाभन्दा कडा सजाय पाउनुपर्छ। उत्तरप्रदेशको महिलाहरुको सुरक्षाप्रति तपाई जिम्मेवार हुनुहुन्छ ?,’ गान्धीले मुख्यमन्त्री योगीलाई लक्षित गर्दै ट्विटरमा लेखेकी छिन्।

प्रकाशित मिति: : 2020-10-01 10:13:40

प्रतिकृया दिनुहोस्