बलात्कारका घटना रोक्न प्रयत्न गरिरहेका छौं: गृहमन्त्री

 गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना रोक्न सरकारले अधिकतम प्रयत्न गरिरहेको बताएका छन्। 

राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा गृहमन्त्री बादलले भने, ‘बलात्कारका घटना रोक्न सरकारको तर्फबाट निष्ठापूर्वक अधिकतम प्रयत्न गरिरहेका छौं।’

तर पछिल्लो समय औसतमा प्रत्येक दिन ६/७ जना बलात्कृत हुने गरेको देखिएको उनले बताएका छन्।

बलात्कारीलाई फाँसी दिनुपर्ने महिला सांसदहरुको मागतर्फ संकेत गर्दै उनले कानुनमा कमजोरीहरु छन् कि भन्ने बहस भइरहेको बताए। 

बलात्कार र हत्याका घटना न्यूनीकरणका लागि राज्यले कानुन र नियम निर्माण गरे पनि प्रभावकारी हुन नसकेको थापाले बताए। ‘राज्यका तर्फबाट हामीले यस किसिमका घटना रोकथाम र नियन्त्रणका लागि कानुन र नियम बनाएका छौं। यसका साथसाथै जनतामा जागरण ल्याउने अभियान पनि गर्दै आएका छौं। यस्तो हुँदाहुँदै पनि घटना रोक्न सकेका छैनौं,’ उनले भने।

बलात्कार र हत्याका आरोपितलाई कानुनको कठघरामा ल्याउछाैं: गृहमन्त्री

यता बझाङकी सम्झना कामीलगायतमाथि भएको बलात्कार तथा हत्याका आरोपितलाई कानुनको कठघरामा ल्याउन सरकारले कडा कदम चालेको गृहमन्त्री थापाले बताएका छन्।

सम्झनाको असोज ७ गते बलात्कारपछि हत्या भएको थियो। हत्यामा संलग्न राजेन्द्र बोहोरालाई पक्राउ गरिएको मन्त्री थापाले जानकारी दिए।

‘बझाङको घटना होस् कि सिरहा तथा काठमाडौंको, दोषीहरूलाई कानुनको कठघरामा ल्याउन कडा कदम चालिएको छ,’ थापाले बैठकमा भने। 

सप्तरीमा पनि परिवार र पञ्चायतले बलात्कारको घटनाबारे बालिकालाई उजुरी गर्न नदिएपछि उनले आत्महत्या गरेको गृहमन्त्रीले बताए।

पछिल्लो समय यस्ता मुद्दामा मेलमिलाप गराउनेलाई पनि कानुनी कारबाही गर्नुपर्ने कुरा उठेको जनाउँदै गृहमन्त्री थापाले उनीहरूविरुद्ध पनि कारबाही चलाइने बताए।

प्रकाशित मिति: : 2020-09-30 12:39:40

प्रतिकृया दिनुहोस्