कोरोनाका कारण सात महिनामा ८० हजार बढी नेपाली घर फर्किए, सबैभन्दा बढी युएईबाट

सांकेतिक तस्बिर

कोरोना संक्रमणका कारण पछिल्लो सात महिनाभित्र ८० हजारभन्दा बढी नेपाली कामदार स्वदेश फर्किएका छन्।

 कोरोनाका कारण विदेशमा अलपत्र परेपछि ८० हजार १६ नेपाली स्वदेश फर्किएको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले बताएको छ।
 
केन्द्रले शनिबारसम्म ३२ मुलुकबाट नेपाली कामदार फर्किएको जानकारी दियो। स्वदेश फर्किनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई) बाट छन्। यहाँबाट २३ हजार २ सय ३७ जना फर्किएको केन्द्रले बताएको छ। सबैभन्दा कम श्रीलंकाबाट पाँच जना फर्किएका छन्। 

केन्द्रका अनुसार हालसम्म साउदी अरेबियाबाट १२ हजार ३८१, मलेशियाबाट ११ हजार ६५१, कतारबाट ११ हजार १५०, कुवेतबाट आठ हजार ४७८, जापानबाट एक हजार ७५४, दक्षिण कोरियाबाट एक हजार ४४७, ओमनबाट एक हजार ३२५, बहराइनबाट एक हजार २७४, अष्ट्रेलियाबाट एक हजार ९१, टर्कीबाट ९३६, बङ्गलादेशबाट ८८८, माल्दिभ्सबाट ८५३, सिङ्गापुरबाट ५५५, अमेरिकाबाट ४३०, चीनबाट ३३३ र जोर्डनबाट ३१७ नेपाली स्वदेश फर्केका छन्।

उनीहरु अधिकांश रोजगारीका लागि र केही अध्ययन, तालिम प्रशिक्षण, उपचार र परिवारिक भेटघाटका सिलसिलामा विभिन्न मुलुक पुगेका थिए।

स्वदेश फर्कनेमा प्रदेश नं १ का १४ हजार ६११, प्रदेश नं २ का १२ हजार तीन, वाग्मती प्रदेशका १८ हजार २६४, गण्डकी प्रदेशका नौ हजार ३०, प्रदेश नं ५ का ११ हजार ६११, कर्णाली प्रदेशका एक हजार ५२५ र सुदूरपश्चिम प्रदेशका एक हजार ७४५ रहेको केन्द्रले जनाएको छ। फर्कनेमध्ये ११ हजार २२७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ।

प्रकाशित मिति: : 2020-09-28 17:01:25

प्रतिकृया दिनुहोस्