अध्यक्षद्वय ओली–प्रचण्ड छलफल सकियो, मन्त्रिमण्डल पुनर्गठनबारे जुटेन सहमति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ।

आइतबार मध्यान्ह १२ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक अगाडि बालुवाटारमा भएको अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल भएको थियो।  

अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ले छलफलमा कुनै सहमति नभएको जानकारी दिए।

‘मन्त्रिमण्डल पुनर्गठन कुनै पनि विषयमा सहमति भएको छैन’, सापकोटाले भने, ‘छलफललाई निरन्तरता दिने भन्ने भएको छ।’

उनले पार्टी एकता लगायतका विषयमा छलफल भने भएको बताए। 

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा गत आइतवारको सचिवालय बैठक र ओली प्रचण्डबीचको भेटले ठोस निष्कर्ष भने निस्किन सकेको छैन। 

मन्त्रिपरिषद् पुनगर्गठनका लागि सबै मन्त्री हटाउने वा दुई वर्ष पुगेका हटाउने र नयाँ राख्ने, राम्रा काम गरेका पुरानालाई दोहोर्‍याउने वा अवसर नपाएका सांसदहरुलाई मन्त्री बनाउने लगायतका विकल्प प्रस्तुत गरिएको छ।

सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने भएपनि प्रधानमन्त्री ओलीले आजका लागि बैठक डाकेका थिए। शुक्रबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले केही मन्त्रीहरुको लागि यो बैठक अन्तिम हुन सक्ने संकेत गरेका थिए। 

सोही कारणले आज मन्त्रिपरिषद् पुनगर्गठनका लागि बैठक बोलाइएको थियो। तर, दुई अध्यक्षबीच सहमति नभएपछि मन्त्रिपरिषद पुनर्गठनको आजै नहुने भएको छ। 

प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा कुनै जानकारी नदिइएको सापकोटाले बताए।

प्रकाशित मिति: : 2020-09-27 12:52:34

प्रतिकृया दिनुहोस्