बझाङकी सम्झना विकको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरी स्रोतले दिएको जानकारीअनुसार मष्टा गाउँपालिका २ की १२ वर्षीया बालिका सम्झनाको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको देखाएको हो।
जिल्ला अस्पताल बझाङले प्रहरीलाई शनिबार दिएको पोस्टमार्टम रिपोर्टमा योनाङ्गमा घाउ भएको देखाएको एक प्रहरीले बताए।
‘यौनांगमा भित्री र बाहिरी चोटहरू रहेकाे देखाएकाे छ,’ ती प्रहरीले भने, ‘उनकाे टाउको, अनुहार, पिठ्यूँ लगायत शरीरका विभिन्न ठाउँमा चोटपटक छ र बाहिरी चोटहरू बलात्कारीसँग प्रतिकार गर्ने क्रममा लागेको देखिन्छ।’
यसअघि चिकित्सकहरुले उनको मृत्युको कारण कलेजो च्यातिएर भएको भनेका थिए। ’कलेजोमा पनि ठूला घाउ देखिएको छ,’ ती प्रहरीले भने, उनलाई हत्याराले हिर्काउँदा लागेको हुन सक्ने अनुमान गरिएको छ।’
घटनाबारे अनुसन्धान गर्न बझाङका प्रहरी नायब उपरीक्षक रूपक खड्का नेतृत्वमा टोली खटिएको छ। घटनाको प्रकृति र स्थिति हेर्दा बलात्कारपछि हत्या भएको उनले बताए।
घटनास्थल र आसपासका स्थानीय बासिन्दासँग सोधपुछ गरिएको प्रनाउ खड्काले जानकारी दिए।
‘शनिबार पनि घटनाको तथ्य संकलनका लागि म सहित ९ जनाको टोली घटनास्थल गएका थियौँ,’ उनले भने, हामीले बालिकाकाे आफन्तका साथै चिनेजानेकालाई आवश्यक साेधपुछ गरेका छाैं।’
गत बुधबार गाईबस्तुलाई घाँस हाल्न गएकी मस्टा गाउँपालिका २ की सम्झना मृत फेला परेकी थिइन्। बुधबार साँझ घाँस हाल्न निस्केकी सम्झना शव निर्वस्त्र सिमदेवता मन्दिरमा भेटिएकाे थियाे।
उनलाई बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई कारवाही गर्न शनिबार चैनपुरमा स्थानीय बासिन्दाले प्रदर्शन गरेका थिए।
यद्यपी घटनामा संलग्न रहेकाे आराेपमा पक्राउ परेका सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरामाथि थप अनुसन्धान अगाडि बढाइएकाे प्रनाउ खड्काले बताए।
अनुसन्धानमा अहिलेसम्म फेला परेको प्रमाणहरु हेर्दा बोहराले नै यो घटना घटाएको लगभग स्पष्ट भएको डीएसपी खड्काको भनाइ छ । यद्यपी उनले प्रारम्भिक अनुसन्धानमा घटनामा संलग्नता इन्कार गरेका छन्।
प्रनाउ खड्काका अनुसार प्रहरीका अनुसार गाई-गोरु थन्क्याउन जाने बाटोमा राजेन्द्रले सम्झनालाई कहिलेकाहीँ पछ्याउने गरेकाे खुलेकाे छ।राजेन्द्र र सम्झनाको घर दस मिनेट टाढा छ।
बेला-बेलामा राजेन्द्रले सम्झनासँग कानका मुन्द्री मागिरहेको कुरा सम्झनाले हजुरबुवालाई भन्ने गरेकाे उनले जनाएकाे छ।
यद्यपी शव फेला पर्दा सम्झनाको कानमा पाँच आनाका सुनका मुन्द्री नभेटिएकाे प्रनाउ खड्काले बताए। यता राजेन्द्र पक्राउ पर्दा पनि मुन्द्री फेला नपरेकाे उनकाे भनाइ छ। घटनामा राजेन्द्रबाहेक अन्य व्यक्ति थिएनन् भन्ने प्रहरीको बुझाइ छ।
यद्यपी बोहरा यसअघि पनि अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको दाबी छ। प्ननाउ खड्काका अनुसार त्यसदिन राजेन्द्र सम्झनालाई पछ्याउँदै गएको हुनसक्ने शंका गरिएको छ। र, उनले जंगल पुगेपछि सम्झनालाई मन्दिर पुर्याएर बलात्कारपछि हत्या गरी मुन्द्री लगेको आशंका छ।
सम्झना मष्टा निमाविको कक्षा ६ मा अध्ययनरत थिइन्।
घरकी ठूली छोरी सम्झना हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन्। विपन्न परिवार भएकाले उनका बुवा बिजुली र आमा धउली कामी रोजगारीका लागि भारत कर्नाटकमा रहेका छन्। उनीहरूसाथ एक छोरा र दुई छोरी उतै छन्।