कोरोना संक्रमणका कारण भारतका रेल राज्यमन्त्री अंगडीको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको निधन भएको छ।

६५ वर्षीय अंगडीको बुधबार बेलुका भारतको राजधानी नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ साइन्स् (एम्स्) मा उपचारको क्रममा निधन भएको हो।

सेप्टेम्बर ११ मा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई एम्स भर्ना गरिएको थियो। उनले आफै ट्वीट गरेर संक्रमणको जानकारी गराएका थिए।

अंगडी भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट कर्नाटकको बेलागावी निर्वाचन क्षेत्रबाट सन् २००४ देखि लगातार चार पटक निर्वाचित हुँदै आएका थिए । पछिल्लो पटक सन् २०१९ को लोकसभा चुनाव जितेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई रेज राज्य मन्त्री बनाएका थिए।

मोदीले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्।

उनले ट्वीटमा लेखेका छन्, ‘श्री सुरेश अंगडी एक प्रतिवद्ध कार्यकर्ता थिए जसले पार्टीलाई कर्नाटकमा बलियो बनाउनका लागि कडा मेहनत गरेका थिए। उनी एक समर्पित सांसद र प्रभावकारी मन्त्री थिए। उनको निधन दुःखद छ। यो दुःखको समयमा मेरो समवेदना उनको परिवार तथा साथीभाइमा छ।’

पछिल्ला वर्षहरुमा नेपाल र भारतबीच विभिन्न रेल परियोजनाहरुको निर्माणमा समझदारी बन्दै गएकाले मन्त्री अंगडीले दुई देशबीचको सम्बन्धमा पनि विशेष चासो राख्ने गरेका थिए। त्यसमाथि प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गमा त उनी प्रत्यक्ष रुपमा संलग्न नै थिए। 

भारतमा बुधबार साँझसम्म कोरोना संक्रमितको संख्या ५६ लाख ४६ हजारभन्दा बढी पुगेको छ। त्यस्तै भारतमा कोरोनाबाट ९० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब ४६ लाख निको भएका छन्।

हालसम्म भारतमा प्रदेशका दुई जना मन्त्री, तीन संघीय सांसद र ६ जना विधायकको कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन्। 

यसअघि कर्नाटककै अर्का सांसद अशोक गस्तीको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । गस्ती पनि भाजपाबाटै राज्यसभामा चुनिएका थिए ।

यस्तै १६ अगस्टमा पूर्व क्रिकेटर तथा उत्तरप्रदेश राज्यका मन्त्री चेतन चौहानको कोरोना मृत्यु भएको थियो। राजनीतिमा प्रवेश गर्नुअघि चौहानको परिचय सफल क्रिकेटरका रुपमा चिनिन्थे। 

उनी भारतका अर्का चर्चित क्रिकेट सुनिल गावस्करका ओपनिङ पार्टनर थिए।  

१२ वर्ष लामो क्रिकेट करिअरमा उनले चालीस वटा टेस्ट म्याच खेलेर दुई हजारभन्दा बढी रन बनाएका थिए।

कोरोनाबाट मृत्यु हुने चौहान उत्तरप्रदेश सरकारका दोस्रो मन्त्री हुन्। 

त्यसअघि उत्तरप्रदेशकै मन्त्री कमला रानी वरुणको कोरोना मृत्यु भएको थियो। उनी योगी आदित्यनाथ नेतृत्वको उत्तर प्रदेश सरकारमा प्राविधिक शिक्षा मन्त्री थिइन्।

यसबाहेक भारतमा संक्रमित हुने मन्त्री, सांसद, मुख्यमन्त्री र विधायकहरु छन्। केन्द्रीय मन्त्रीहरु अमित शाह, नितिन गडकरी, धमेन्द्र प्रधान, गजेन्द्र सिंह शेखावतलगायत समेत संक्रमित भइसकेका छन्। 

संक्रमित हुनेमा प्रदेशका मुख्यमन्त्री, मन्त्री र विधायकहरु समेत छन्। २ अगस्टमा कर्नाटकका मुख्यमन्त्री बीएस यदुरप्पामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

यता दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोडियाको स्वास्थ्य केही जटिल बनेपछि मंगलबार अस्पताल भर्ना गरिएको छ।
 

प्रकाशित मिति: : 2020-09-24 06:51:55

प्रतिकृया दिनुहोस्