इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो सक्रियतालाई रोक्न ‘क्वाड’का विदेशमन्त्रीले जापानी प्रधानमन्त्रीलाई भेट्दै

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिका, जापान, अस्ट्रेलिया र भारत सहभागी चौपक्षीय सुरक्षा संवाद अर्थात् ‘क्वाड’का विदेशमन्त्रीस्तरीय बैठक अर्को महिना जापानमा गर्ने तयारी भइरहेको छ।

तीन देशका विदेशमन्त्रीसँग नवनियुक्त जापानी प्रधानमन्त्री योसिहिदे सुगाको भेटको तयारी भइरहेको जनाइएको छ। 

अमेरिकाको नेतृत्वमा इन्डो प्यासिफिक क्षेत्रमा चीनलाई नियन्त्रण गर्न यो सुरक्षा ढाँचा (क्वाड) निर्माण गरिएको हो।

‘क्वाड’का चारै देश इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो सक्रियतालाई रोक्न चाहन्छन्। 

यसअघि सेप्टेम्बर २०१९ मा न्युयोर्कमा ‘क्वाड’का विदेशमन्त्रीबीच पहिलो बैठक भएको थियो। ‘क्वाड’को यो दोस्रो विदेशमन्त्री स्तरीय बैठक हुनेछ। 

बैठकमा जापानी विदेशमन्त्री तोसिमित्सु मोतेगी र उनका समकक्षीहरु अमेरिकाका माइक पम्पेओ, अस्ट्रेलियाका मरिस पेन र भारतका एस जयशंकर सहभागि हुने जनाइएकाे छ। 

सो बैठकमा चीनलाई रोक्ने संयुक्त उपायको खोजी गरिने अपेक्षा गरिएको छ। पछिल्लो समय ‘क्वाड’का चारमध्ये तीन मुलुकसँग चीनको सम्बन्ध अत्यन्त तनावपूर्ण बनेको छ। 

अमेरिका र चीनबीच व्यापार युद्ध जारी छ। यता छिमेकी राष्ट्र भारतसँग सीमामा तनाव छ।

प्रकाशित मिति: : 2020-09-21 07:44:55

प्रतिकृया दिनुहोस्