अनशनरत डाक्टर केसीको जीवन रक्षा गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आइतबार विज्ञप्ति निकालेर केसीले उठाएका मागलाई गम्भीरतापूर्वक लिन र विगतमा भएका सम्झौता पालना गर्दै जीवन रक्षाको माग गरेका हुन्।

‘डाक्टर केसीले उठान गर्नु भएको विषयलाई गम्भीरतापूर्वक लिन र विगतमा भएका सम्झौताहरु पालना गरी उहाँको जीवन रक्षाको लागि सरकार समक्ष नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ,’ खाँणले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

डाक्टर केसी जुम्लामा अनशनरत छन्। स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई शनिबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।

‘अनशनका कारण उहाँको दिनप्रति दिन स्वास्थ्य स्थिति नाजुक भइरहँदा पनि सरकारले उहाँको मागलाई वेवस्ता गर्नु अत्यन्त दुःखद विषय हो,’ उनले भनेका छन्, ‘सबै नेपाली नागरिकको स्वास्थ्यमा सरल र सहज रुपले पहुँच होस् र विपन्न परिवारका छोराछोरीले पनि सहज र सुलभ तरिकाले चिकित्सा शिक्षा हासिल गरोस् भन्ने उद्देश्यका साथ जनहितका लागि गर्नु भएको सत्याग्रह प्रति ऐक्यबद्धता जनाउँदै तत्कालीन कांग्रेस नेतृत्वको सरकारले ल्याएको स्वास्थ्य सम्बन्धित अध्यादेशलाई समेत कार्यान्वयन गर्नका साथै साथै अनसनरत डा. केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’

प्रकाशित मिति: : 2020-09-20 17:56:32

प्रतिकृया दिनुहोस्