दुनियाँले साथ छाडे पनि मान्छेलाई उसको छायाले कहिल्यै साथ छाड्दैन रे!
सोच्नुस् त, के होला जब आफ्नो छायाले आफ्नै साथ छाड्यो भने!
त्यो पनि एक वा दुई घन्टालाई होइन, एक वा दुई महिना पनि होइन। पूरै अठार महिना!
यो कल्पना होइन, यथार्थ हो।
यस्तै भएको थियो आजभन्दा झन्डै पन्ध्र सय वर्षअघि, सन् ५३६ मा, जब पूरै अठार महिना मान्छेले न घाम देखे, न घामको प्रकाशमा आफू सँगसँगै हिँड्ने छाया!
मान्छेलाई दुःखजति आफ्नो ठूलो लाग्छ, सुखजति अर्काको। अहिले हामी कोरोना महामारीको युगमा छौं। संसारका तीन करोड मान्छे कोरोना भाइरसबाट संक्रमित छन्, साढे नौ लाखभन्दा बढीले ज्यान गुमाइसके।
नेपालमै ६२ हजार संक्रमित र मृत्यु संख्या ४ सय नाघिसक्यो। लगभग आधा वर्ष बित्न आँट्यो, हामीले निर्धक्क हिँड्न नपाएको, निर्धक्क मान्छेहरूसँग बोल्न नपाएको र निर्धक्क एकअर्कालाई छुन नपाएको।