संविधान दिवसमा ‘इतिहास रच्ने’ नेपाली खेलाडीमाथि भद्धा मजाक

नवीन अर्याल

काठमाडाैं

नेपाली खेलकुदको ६२ वर्ष लामो इतिहासमा नेपाली खेलाडीले पहिलो पल्ट अपमान महसुस गरेका छन्। संविधान दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका व्यक्तिलाई मानपदवी, अलङ्कार र पदकबाट विभूषित घोषणा गर्दा इतिहास रच्ने खेलाडीलाई बाहिर राखिएको छ। 

गत वर्ष नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको थियो। प्रतिकूल अवस्थाका बाबजुद नेपाली खेलाडीले मेडल तालिकामा आफूलाई दोस्रो स्थानमा राखेका थिए। 

निकै कम समय ट्रेनिङको मौका पाएका नेपाली खेलाडीले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य गरि कूल २ सय ७ वटा पदक देशलाई दिलाएका थिए। साग प्रतियोगिताको ३६ वर्ष लामो इतिहासमा यो अहिलेसम्मकै अविस्मरणीय सफलता थियो। 

पौडी खेलाडी गौरिका सिंहले नेपालको नाम उचो राख्दैं सागमा ४ वटा स्वर्ण जितेकी थिइन। उनी पौडीको एकल प्रतिस्पर्धामा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी मात्र थिइनन्, उनले १३ औं सागमा सबैभन्दा बढी स्वर्ण जित्ने खेलाडीको कीर्तिमान पनि बनाएकी थिइन्। यो हिसाबले उनी पदकको सबैभन्दा ठूलो हकदार थिइन्। 

तेक्वान्दोकी आयशा शाक्य, करातेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङले पनि २–२ वटा स्वर्ण जितेका थिए। यसमा पनि ट्रायथोलनकी सोनी गुरुङ, १० हजार मिटरमा सन्तोषी श्रेष्ठ, भारत्तोलनमा सञ्जु चौधरी, कुस्तीमा संगीता धामीले नेपाललाई आफ्नो स्पर्धामा पहिलो स्वर्ण दिलाउने इतिहास रचेका थिए। 

पौडीकी ड्वाना लामाले दुई वटा रजत जितेर सागको इतिहासमा सबैभन्दा कम उमेरमा यो इतिहास रच्ने कीर्तिमान बनाएकी थिइन। उनी पदक जित्दा १३ वर्षकी थिइन्। नेपालमा सबैभन्दा लोकप्रिय फुटबल टोलीले पनि स्वर्ण जिताएको थियो। नेपालले ३६ वर्षपछि आफ्नै देशमा सागमा स्वर्ण जितेको थियो। 

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम उचो राख्ने यी खेलाडीको सट्टा विवादास्पद छवीका सदस्य–सचिव रमेश सिलवाललाई सुप्रवल जनसेवा श्री तृतियबाट सम्मानित गरिएको छ। 

नेपाली क्रिकेटलाई प्रतिबन्धमा लैजान सबैभन्दा ठूलो भूमिका निर्वाह गरेका सिलवाललाई साग प्रतियोगिता सुरु हुनुभन्दा केही महिनाअघि मात्र राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिव नियुक्त गरिएको थियो।

साग प्रतियोगिता सम्पन्न भएको ९ महिना वितिसक्दा पनि उनले खर्चको विवरण राज्यलाई बुझाउन सकेका छैनन्।

सरकारले साग प्रतियोगिताका लागि करिब ३ अर्बको बजेट निकासा गरेको थियो। सम्मानको विषयमा कुराकानी गर्न खोज्दा उनी उपलब्ध भएनन्।

सिलवालसँगै १३ औं साग समारोह समितिका सचिव रहेका प्रशासन विभाग प्रमुख कुलबहादुर थापालाई पनि प्रवल जनसेवा श्री चतुर्थबाट सम्मानित गरिएको छ। उनी १३ औं सागमा उद्घाटन र समापन समारोह समितिका निर्देशक थिए। 

हाल राष्ट्रिय खेलकुद परिषद्को प्रवक्तासमेत रहेका थापाले भने, ‘हामीले सागमा स्वर्ण पदक जित्ने सबै खेलाडी र प्रशिक्षकको मानपदवीका लागि सिफारिस गरेका थियौं। तर, उहाँहरूको नाम परेन भन्ने जानकारी आएको छ।’ उनले आफूहरूको नाम मन्त्रालयबाट सिफारिस भएर गएको हुनसक्ने बताए। ‘हामी आफैंले आफ्नो नाम सिफारिस गरेका थिएनौं। मन्त्रालयले मूल्याकन गरेर पठाएको हुन सक्छ।’

संविधान दिवसको अवसरमा प्रदान गरिने मान, सम्मानमा साग गेम्समा राज्यको नाम उचो राख्ने खेलाडीलाई अपमानित गरेकोमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले गुनासो गरेका छन्। 

उनले सम्मानित व्यक्तिको सूचि हेर्दा सम्पूर्ण खेलाडीले आफूलाई अपमानित महसुस गरिरहेको बताए। सागमा नेपाललाई करातेतर्फ २ वटा स्वर्ण जिताएका पूर्व खेलाडीसमेत रहेका श्रेष्ठले भने, ‘यतिको अपमानित कहिले महसुस भएको थिएन।’

उनले पदकका लागि सिफारिस हुँदा नै आफूहरूले विरोध गरेको बताए। भने, ‘हामीलाई पदकका लागि सिफारिस गर्न फारम भर्न लगाइयो। 
कसैलाई दिनु थिएन भने किन फारम भर्ने नाटक रचियो?’

यता करातेका मण्डेकाजी श्रेष्ठले पदक पाउनेको नाममा पनि खेलाडी भनेर नजनाइएको भन्दै आपत्ति जनाए।

‘पदक पाउने सबै विभागका खेलाडी होइनन्। जवान, हवल्दार भनेर दिएका छन्। विभागले यसरी नाम पठाएकाे थिएन। कसैको नाममा पनि खेलाडी नलेखेर मन्त्रालयले मनोबल गिराउने कार्य गरेका छन्,’ उनले भने। 

श्रेष्ठले पदकमै राजनीति हुने स्थिति कायमै रहेकाे भन्दै खेलाडी पलायन हुने अवस्थामा पुगेको समेत सुनाए।

‘देशका लागि हामीले खेल्यौं। तर पदक र सम्मान पाउनेबेला हाम्रो नाम नै छुटाएर राजनीतिक कार्यकर्तालाई समावेश गरिन्छ भने हामी किन खेल्नु? देशले नै हेला गर्छ भने हामी पलायन हुन्छौं,’ उनले भने। 

भद्रगोल व्यवस्थापनका बीच आयोजना भएको १३ औं सागमा ५१ स्वर्णसहित २ सय ७ वटा पदक जितेर नेपाली खेलाडीले राज्यको इज्जत राखेका थिए। 

खेलाडीको यही उपलब्धीका कारण प्रधानमन्त्री केपी ओलीले पनि आफ्नो कार्यकालको सबैभन्दा राम्रो काममा यसलाई राख्दै आइरहेका छन्। तर, आफूहरूलाई सम्मान गर्ने कार्यमा राज्यले भद्धा मजाक गरेको गुनासो खेलाडीहरूको छ।   

खेल क्षेत्रका व्यक्तिलाई सम्मान गर्ने नाममा पूर्व ओलम्पियन तथा १३ औं सागमा महिला तेक्वान्दो टोलीकी प्रशिक्षक रहेकी संगीना बैध र हङकङ राष्ट्रिय तेक्वान्दो टोलीका पूर्व प्रशिक्षक तुलसी गुरुङलाई सम्मान गरिएको छ। 

संगीना र तुलसीलाई प्रवल जनसेवा श्री चतुर्थबाट सम्मानित गरिएको छ। सरकारले राष्ट्रिय खेलकुद परिषद्ले पठाएको नामभन्दा पनि आर्मी र पुलिसबाट गएको विभागीय नामलाई बढी महत्व दिएको देखिन्छ। 

सम्मान पाउनेमा नेपाल प्रहरीबाट ७, नेपाल आर्मीबाट ६ र सशस्त्र प्रहरीबाट २ जना खेलाडीलाई सम्मान गरिएको छ। 

नेपाल प्रहरीबाट भारत्तोलनका विकास थापा, तेक्वान्दोका कमल श्रेष्ठ र विरबहादुर महरा, बक्सिङका भूपेन्द्र थापा, करातेकी सुनिता महर्जन, सरु कार्की र महसुस मोक्तान नेपाल प्रताप भूषणबाट सम्मानित भएका छन्। 

यस्तै, आर्मीबाट ट्रायथोलन खेलाडी हिमाल टमाटा परम पौरख भास्करबाट, तेक्वान्दोका सञ्जिव ओझा, मिनु गुरुङ, संगीता मगर, बक्सिङकी मिनु गुरुङ र करातेका प्रविन मानन्धरलाई सुकीर्ति पदकबाट सम्मानित गरिएको छ। 

सशस्त्रबाट एथ्लेटिक्सका किरणसिंह बोगटी र जुडोकी देविका खड्का सुकीर्ति पदकबाट विभुषित भएकी छिन्।

प्रकाशित मिति: : 2020-09-19 18:09:00

प्रतिकृया दिनुहोस्