माननीय बनेका वामदेवले भने- राष्ट्रिय सभाको गरिमा बढाउन आएको हुँ

प्रतिनिधिसभा चुनाव हारेका नेकपा उपाध्यक्ष वामदेव गौतम बिहिबारबाट ‘माननीय’ भएका छन्। बर्दिया १ बाट चुनाव हारे पनि मन्त्रिपरिषदको सिफारिसमा गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनित गरेपछि उनी माननीय भएका हुन्।

उनले बिहीबार दिउँसो राष्ट्रिय सभा सदस्यको सपथ लिएका छन्। आजै सिंहदरबारस्थित कृषि समितिको सभाहलमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनले उनलाई सांसद पदको सपथ ग्रहण गराएका हुन्।

उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय गरेको थियो।

आजै राष्ट्रिय सभा सदस्य मनोनित वामदेव गौतमले आफू राष्ट्रिय सभाको गरिमा बढाउन राष्ट्रिय सभामा आएको बताएका छन्।

बिहीबार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथ लिएपछि बोल्दै गौतमले आफूलाई राष्ट्रिय सभामा मनोनयन गर्ने आफ्नो पार्टी नेकपा, प्रधानमन्त्री र राष्ट्रपतिप्रति आभार व्यक्त गरे।

आफूले राष्ट्रिय सभामा यसको गरिमा बढाउन नेपालको संविधानबमोजिम, राष्ट्रिय सभाको नियमावलीबमोजिम निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्न आएको बताए।

‘मैले यो सभाको सदस्य रहँदासम्म कहिल्यै पनि राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा गिराउने गरी  कुनै क्रियाकलाप गर्ने छैन,’ उनले भने।

उनले राष्ट्रिय सभा सदस्यको भूमिका निर्वाह गर्दा नेपालको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, सार्वभौम अधिकार र नेपाली जनताप्रति सधैं बफादार भएर कर्तव्य निर्वाह गर्ने बताए।

‘नेकपाले नेपालमा समाजवाद स्थापना गर्ने लक्ष्यका साथ संविधानबमोजिम उपस्थित भएको छ,’ उनले भने,‘त्यसका लागि म आफूलाई समर्पित गर्नेछु। त्योभन्दा  मेरो कुनै अर्को उद्देश्य, लक्ष्य र स्वार्थ छैन।’

प्रकाशित मिति: : 2020-09-17 17:05:31

प्रतिकृया दिनुहोस्