दर्शन गर्न पाउनुपर्ने मागसहित मन्दिर छिर्ने प्रयास गरेपछि पशुपतिमा भक्तजन र प्रहरीबीच घम्साघम्सी परेकाे छ।
पाशुपत क्षेत्रमा बिहीबार बिहान जम्मा भएका केही समूहले सरकारविरुद्ध नाराबाजी गर्दै मन्दिर छिर्ने प्रयास गरेपछि प्रहरीले सिठ्ठी फुक्दै उनीहरुलाई तितरवितर बनाएकाे छ।
आफ्नो धार्मिक आस्थामा सरकारले आक्रमण गरेको भन्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा समेत लगाएका थिए।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गत चैत ७ गतेदेखि पशुपति क्षेत्रमा भक्तजनलाई पूर्ण रुपमा प्रवेशम रोक लगाइरहेको छ।
यता बौद्धनाथ, स्वयम्भूनाथलगायत मुख्य धार्मिक स्थलमा दर्शन एवं पूजा आराधना गर्न चैतदेखि निषेध गरिएको छ।
यसअघि पनि विश्व हिन्दू महासंघले ६ महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति जनाएको थियाे। महासंघले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग गरिरहेकाे छ।
पशुपति क्षेत्र विकास कोषले दूरी कायम गरी मन्दिर खुलाउन साउनमै मापदण्ड बनाएपनि सरकारले खोल्ने अनुमति दिएको छैन।