ओमानमा अलपत्र परेका तीन महिलासहित १६५ नेपाली स्वदेश फर्किए

नेपाली राजदूतावास मस्कट, ओमानले अलपत्र परेका ३ महिलासहित १६५ जनालाई स्वदेश फर्काएकाे छ। 

शुक्रबार स्वदेश फर्किनेमा ३९ महिला तथा १२६ पुरूष रहेका छन्। उडान दलका चालक सदस्यसहित सबैकाे पीसीआर रिपोर्ट नेगेटिभ रहेको सुनिश्चित गरेपछि न्यूनतम हवाई भाडामा स्वदेशसरकारले तय गरेको मापदण्ड अनुसार स्वदेश फर्काइएकाे राजदूत सर्मिला पराजुली ढकालले बताइन्।

आजकै उडानबाट स्वदेशजाने मध्ये बिगत ७ वर्षदेखि ओमानमा हराएकी भनिएकी बाह्रदशी झापाकी एक महिलालाई पनि उद्धार गरेर स्वदेश फर्काइएकाे छ। 

नेत्र कुमारी राउत नाम गरेकी महिलाई वैदेशिक रोजगारीको सिलसिलामा घरेलु कामदारको रूपमा केही वर्षअघि ओमान आएको र २०७० सालदेखि सम्पर्क विहिन रहेकाे भन्दै उनका छोरा नवराजले स्वदेश फर्काउन परराष्ट्र मन्त्रालयमार्फत निवेदन दिएका थिए। 

उनलाई तथ्य प्रमाण एवं कूटनीतिक माध्यमबाट सम्पर्कमा ल्याइएको र निजको स्वास्थ्य अवस्था पनि नाजुक रहेको हुँदा घरसम्मै लैजाने व्यवस्थाका लागि दूतावासले सहजीकरण गरिदिएकाे राजदूत ढकालले बताइन्। 

साथै, घरेलु कामदारको रूपमा काम गर्ने क्रममा अलपत्र परेका महिलाद्वय ताप्लेजुङकी अरुणा मादेन र स्याङ्जाकी गज कुमारी श्रेष्ठलाई समेत स्वदेश फर्काइएकाे छ। उनीहरु मानव तस्करको फन्दामा परी पर्यटक भिसामा गैरकानूनी बाटो हुँदै वैदेशिक रोजगारीको लागि ओमानमा आइपुगेका थिए। 

त्यसैगरी यही उडानमा विभिन्न कम्पनीमा एंवम् घरेलु कामदारको रूपमा कार्यरत करिब ६० जना नेपालीहरूलाई आवश्यक समन्वय तथा पहल गरेर स्वदेश फिता गरिएकाे राजदूत ढकालले जानकारी दिइन्।

स्वदेश फर्कनेलाई विदाई गर्न विमानस्थल पुगेकी राजदूत ढकालले सम्पूर्ण नेपालीहरुलाई स्वदेश फिर्तीको लागि सफल यात्रा तथा सुखमय जीवनको लागि शुभकामना दिएकी थिइन्।

यात्रुहरुको यात्रा सहजीकरणको लागि दूतावासका द्बितीय सचिव सोमेश थापा, श्रम सहचारी दिनेश ढकाल, सहचारी अनिल राना लगायत स्थानीय कर्मचारीहरू तथा नेपाली सोसल क्लबका सदस्यहरू लगायत नेपाली राजदूतावास, मस्कट कोभिड १९ व्यवस्थापन स्वयम्‌सेवी सदस्यहरूको उपस्थिति रहेको थियो।

यात्रामा सहभागी सम्पूर्ण नेपालीहरुले दूतावासको सक्रियतामा चार्टर उडानमार्फत् सुलभ दरमा स्वदेश फर्कने अवसर प्राप्त भएकोमा महामहिम राजदूत तथा समस्त दूतावासको कार्यको प्रशंसा गर्दै दूतावास परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए।

राजदूतवासका अनुसार अनुसार हालसम्म ५ वटा उद्धार उडान मार्फत ८३०  जना नेपालीहरुलाई स्वदेश फिर्ता गराइएकाे छ। 

प्रकाशित मिति: : 2020-09-11 18:33:31

प्रतिकृया दिनुहोस्