फुटपाथ पसल र ठेला व्यापारमा पूर्ण प्रतिबन्ध नलगाए महामारी नियन्त्रणबाहिर जान्छ: उपमेयर खड्गी

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले फुटपाथ पसल र ठेला व्यापार बन्द नगरे महामारी नियन्त्रणबाहिर जाने बताएकी छिन्। 

प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेट्न शुक्रबार बबरमहल पुगेकी उपमेयर खड्गीले उक्त कुरा बताएकी हुन्। 

भेटमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ २४ गते जारी गरेको आदेशमा उनले ‘फुटपाथ र ठेलागाडा व्यापार’ वाक्यांश हटाएर पुनः आदेश जारी गर्न समेत आग्रह गरेकी छिन्।

आदेशमा ‘फुटपाथ पसल र ठेला व्यापार’ खुल्ला गर्ने भनेपछि भित्री वडाहरुले आफ्नो वडामा यस प्रकारका गतिबिधि सञ्चालन गर्न नदिने सूचना प्रकाशन गरेका छन्। त्यसैगरी जनप्रतिनिधिहरुले आफ्ना सामाजिक सञ्जालमार्फत फुटपाथ र ठेला व्यापार सञ्चालन गर्न नदिने जानकारी दिइरहेका छन्।

आदेशमा सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रिक र इलेक्टोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ’ भनिएको छ।

‘महानगरले वार्षिक नीति र कार्यक्रमबाट नै फुटपाथ पसल हटाउने निर्णय गरिसकेको छ, अहिलेको आदेश महानगरको यो नीति विपरीत छ,’ उनले भनिन्, ‘अर्कोतिर सहरमा संक्रमण फैलिँदो दरमा छ। यदि फुटपाथ पसल र ठेला व्यापार खोल्ने हो भने महामारी नियन्त्रणबाहिर जान्छ।’

उनले कन्ट्याक्ट ट्रेसिङ जटिल एकको कारण पनि फुटपाथमा पसल राख्न दिननहुने तर्क गरिन्।

‘फुपाथ तथा ठेलागाडामा स्वास्थ्य सुरक्षा उपाय अबलम्बन गर्ने कम मात्र सम्भावना हुन्छ। अनुगमन गर्न पनि कठिन हुन्छ। यतिमात्रै होइन कन्ट्याक्ट ट्रेसिङ जटिल हुन्छ,’ उनले भनिन्।

ध्यानाकर्षण पत्र बुझिसकेपछि प्रजिअ दाहालले महामारीका समयमा यस पेशामा बसेर काम गर्ने मानिसहरुलाई परेको समस्या खुकुलो बनाउन खोजिएको बताए। 

‘यो आदेश सहरी सौन्दर्य र व्यवस्थापनमा प्रतिकूल गराउने उद्देश्यले जारी गरिएको होइन।’ महामारीका समयमा यस पेशामा बसेर काम गर्ने मानिसहरुलाई परेको समस्या खुकुलो बनाउन खोजिएको मात्रै हो,’ उनले भने।

उनले अब जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा यस सम्बन्धि छलफल गरेर निर्णयमा पुग्ने समेत बताए। 

प्रकाशित मिति: : 2020-09-11 16:19:36

प्रतिकृया दिनुहोस्