सरकारले विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जानेलाई अनिवार्य १४ दिन क्वारेनटाइनमा बस्नुपर्ने नियम बनाएको छ।
त्यस्ता व्यक्तिले १४ दिन क्वारेन्टाइनमा बस्दा आफैले सम्पूर्ण खर्च बेहोर्नुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
कोरोना भाइरसको संक्रमण फैलिँदै गएको र पीसीआर परीक्षण महँगो पर्ने भएकाले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।
‘१४ दिन क्वारेन्टाइनमा बस्दा कुनै लक्षण नदेखिएमा भने पीसीआर परीक्षण गर्नुपर्ने छैन,’ उनले भने।
यस्तै उनले ७२ घण्टाअघि पीसीआर रिपोर्ट नेगेटिभ भएकालाई मात्र नेपाल आउन अनुमति दिइने बताए।
आज मात्रै बेलायतबाट घर फर्किन लन्डनस्थित हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका नेपालीहरुलाई कतार एयरवेजले सरकारी अस्पतालमा कोरोना परीक्षण गरेका यात्रुको रिपोर्ट नेपालको फर्म्याटमा हुनुपर्ने भनेर उनीहरुलाई विमानस्थलमै रोकेको थियो।
कतार एयरवेजले काठमाडौंका लागि उडान भर्न लागेका सबै यात्रुलाई सानेपाको स्टार हस्पिटल मोलिकुलर ल्यावमा परीक्षण गरेको टेष्ट रिपोर्टको फरम्याटमा कोरोना टेष्ट रिपोर्ट देखाउनु पर्ने भन्दै करिब १ दर्जन यात्रुलाई विमास्थलमै रोकेको थियो।