महाराष्ट्र सरकार र बलिउड अभिनेत्री कंगना रनौटबीच आज मुम्बईमा ‘आरपार’ को लडाईं देखिने सम्भावना प्रबल छ।
सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा मुम्बई प्रहरी र महाराष्ट्र सरकारको कडा आलोचना गर्दै आइरहेकी कंगना बुधबार साँझ लामो समयपछि मुम्बई फर्किँदै छिन्। उनले सुशान्तको मुद्धामा मुम्बई प्रहरी र महाराष्ट्र सरकारले अपराधीलाई बचाउने प्रयास गरेको दावी गरेकी थिइन्।
यति मात्र होइन, उनले अहिलेको व्यवस्थाको कडा आलोचना गर्दै मुम्बईलाई पाकिस्तानले कब्जा गरेको काश्मिर (पिओके) सँग तुलना गरेकी थिइन।
उनले आफूलाई अपराधी भन्दा पनि मुम्बई प्रहरीसँग डर लाग्ने प्रतिक्रिया दिएकी थिइन। उनले बलिउड माफिया तथा ड्रग्स कारोबारीको पनि खुलासा गरेकी थिइन। उनको प्रतिक्रियाबाट आगो भएका मुम्बई सरकारका गृहमन्त्री अनिल देशमुख र राज्यसभा सांसद सञ्जय राउतले अशिष्ट भाषा प्रयोग गरेका थिए।
गृहमन्त्री देशमुखले मुम्बई नआउन कंगनालाई धम्की दिएका थिए भने राउतले ‘हरामजादी’ शब्दको प्रयोग गरेका थिए। भारत सरकारले दुई दिनअघि मात्र कंगनालाई ‘वाई’ श्रेणीको सुरक्षा दिएको छ। उनी बुधबार केन्द्र सरकारले उपलब्ध गराएको ‘वाई’ श्रेणीको सुरक्षा लिएर मुम्बई विमानस्थलमा उत्रिने छिन्।
कंगनाले यसअघि नै शिव सेनाका नेता राउतलाई आफू सेप्टेम्बर ९ मा मुम्बईमा उत्रिने, ताकत भए रोकेर देखाउन चुनौति दिएकी थिइन। कंगनाले बलिउडमा भेटिएको ड्रग्स कारोबारको विषयमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) लाई सूचना दिने सम्भावना प्रबल छ।
तर, यसअघि नै उनलाई पक्राउ गर्न महाराष्ट्र सरकारले विभिन्न हत्कण्डा अपनाएको छ। जसका लागि उनीविरूद्ध शिव सेनाका कार्यकर्ताले मुम्बई प्रहरीमा मुद्धा दायर गरेका छन्। यस्तै, मुम्बई महानगरपालिकाले उनको कार्यालय तोडफोड गरेको छ।