उफ् कोरोनाको त्रास!
जुन त्रासमा भक्तपुरकी २३ वर्षीया पुनम कर्माचार्य पनि थिइन्।
पुनमका दौंतरीहरूको दैनिकी मोबाइलका किबोर्डमा औंला थिच्दै बितिरहेको हुन्छ। बचेको समय सिनेमा हेर्ने, संगीत सुन्ने वा यस्तै मनोरन्जनमा खर्चिरहेका हुन्छन्।
तर, पुनम त्यो भीडभन्दा अलग्गै छिन्। र, त भक्तपुरको घलाटे क्षेत्रमा उनका दौंतरीमात्र नभई सबैले खुलेर तारिफ गरिरहेका हुन्छन्।
सबैले भन्छन्– ‘समाजसेवी केटी’।
यो नाम विस्तारै उनको परिचयकै रूपमा स्थापित भइरहेको छ।
उनले गरिरहेको समाजसेवा हो– जोखिम मोलेर कोरोनासम्बन्धी जनचेतना फैलाउनु।
समाजसेवामा होमिएको पनि धेरै भएको छैन।
ख्वपः पोलिटेक्निकल इन्स्टिच्युट च्याम्हासिंहबाट प्रविणता प्रमाणपत्र तहमा नर्सिङ गरेकी उनले केही समय भक्तपुर अस्पतालकै सामाजिक सुरक्षा इकाईमा काम गरिन्।
करार अवधि सकिएपछि उनी फुर्सदिली भइन्। उनलाई फुर्सदिलो जीवन बिताउन मन थिएन।
के गर्ने, गर्ने? उनी सोचिरहेकी थिइन्।
विश्व कोरोना महामारीले आक्रान्त बन्दै थियो। त्यही बेला उनी ‘आरएनए–१६’ मा जोडिइन्। र, त्यहीँबाट सुरु भयो उनको समाज सेवा यात्रा।
२०७५ चैतमा उनी ‘रेस्क्यु एन्ड अवेरनेस’ (आरएनए–१६) समूहमा जोडिइन्। यो स्थानीय युवाहरूको समूह हो।
जुन मानवीय विपत्ति सेवामा खट्ने गर्छ। बाल्यकालमा उनी निकै जिद्धी थिइन्। मनमा लागेको गरिहाल्ने पुनमको सानैदेखिको बानी हो। सामाजिक कार्य भनेपछि उनी हुरुक्कै हुन्थिन्। जुन स्वभावलाई यो समूहले ऊर्जा प्रदान ग¥यो।