उपत्यकामा दिनमा दुई हजार मान्छे भित्रिन थाले, नाकामा सेना परिचालन गराैं: प्रजिअ दाहाल

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश विन्दुमा नेपाली सेना खटाउन सुझाव दिएका छन्। 

प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ दाहालले उपत्यका प्रवेश गर्ने नाका ठप्प पार्न नसकिने बताए।

‘अहिले नेपाल प्रहरी खटाइएको छ। जति कडाई गरे पनि दिनमा दुई हजार मान्छे आउँछन्। यसलाई राेक्न सेना परिचालन गराैं’, उनले भने। 

यसबारे प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टरमा समेत पठाएपनि कुनै निर्णय नभएको उनले बताए।

‘सरकारका निकायहरुले आफ्नो मातहतमा पर्ने क्षेत्रको अनुगमन गर्नुपर्छ। उपत्यकामा कडाई गर्नुपर्ने र सहजीकरण गर्दै जानुपर्ने अप्ठ्यारो छ। चार महिनाको लकडाउन र पछिल्लो पटक तीन साताको निषेधाज्ञाका कारण मानिसहरुले खान नपाएको गुनासो आउन थालेको छ,’ दाहालले भने।

तयारी अझै गराैं

प्रजिअ दाहालले क्वारेन्टाइन र आइसोलेसन सेन्टरहरुको व्यवस्थापन नपुगेकाे पनि बताए। यस्तै पीसीआर टेष्टका लागि स्वाब दिएकाहरुलाई रिपोर्ट नआउँदासम्म घरमै राख्नुपर्नेमा जोड दिए। 

यता कोरोनाका कारण मृत शरिरको व्यवस्थापनका लागि पनि ठाउँ खोज्नुपर्ने उनले बताएका छन्।

प्रकाशित मिति: : 2020-09-06 15:11:54

प्रतिकृया दिनुहोस्