नेपालमा समाजवाद पनि रंग रंगको छ। पहिलो समाजवाद प्रेमबहादुर सिंहको थियो। उहाँ समाजवादको सिरानी लगाएर सुते पछि त्यो समाजवाद पनि लठ्ठ परेर सुतिरहेको छ। त्यसपछि शायद अशोक राईहरुको समाजवाद आयो। त्यो पनि मष्तिष्क भरि नकारात्मक विषादी बोकेर सुतिरहेकै छ। त्यसको प्रकृति हेर्दा त्यसको समाजवाद पनि जिन्दावाद मुर्दावाद मै सकिनेछ। यथार्थमा नेपालका नेताहरुसँग समाजवादी चेतना छैन। समाजवादी चेतना भएको नेता हुन्थ्यो भने उ कम्तिमा आफ्नो निर्वाचन क्षेत्र आर्थिक रुपमा आत्मनिर्भर छ कि छैन भनेर चिन्ता गर्थ्यो र निर्वाचन क्षेत्रको लागि बेस्सरी खटेर काम गर्थ्यो। आफूले काम नगरे पनि स्थानीय सरकारलाई त्यसका लागि परिचालन गर्थ्यो। यस्तो काम गर्ने संघीय सांसदहरु कति होलान ? ७७ जना मात्रै भए पनि देश अर्कै भइसक्थ्यो। पालिका सरकारलाई विकास निर्माणको सम्पूर्ण अधिकार दिने संघीय सांसदहरु कति होलान् ? ५० जना भए पनि कम्तिमा पनि तीन प्रदेशहरु आत्मनिर्भर भइसक्थे। २५ सै जना भए पनि नेपाली जनता जीवनस्तरमा देखिने गरी परिवर्तन आइसकेको हुने थियो। दुःखका साथ भन्नु पर्छ नेपालको संघीय संसदमा जनता चिन्ने एक दर्जन सांसद पनि छैनन्।