कर्फ्यू हटाउँदै ललितपुर महानगरमा निधेषाज्ञा कडा पार्‍यो, ६ दिनसम्म पाँच जनाभन्दा बढी भेला हुन नपाइने

जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार राति १० बजेबाट कर्फ्यू हटाएर निषेधाज्ञालाई थप कडा बनाउको छ।

कर्फ्यू आदेश सकिनुअघि ललितपुर जिल्ला प्रशासनले अर्को सूचना जारी गर्दैं महानगरपालिकाभित्र ६ दिनसम्म पाँच जनाभन्दा बढी भेला जम्मा हुन नपाइने निर्णय गरेको हो।

ललितपुर नगरपालिकाभित्र शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार स्थानीय प्रशासन ऐन २०२८ अनुसार बढी मानिस भेला जम्मा हुन नपाउने गरी निषेधाज्ञालाई नै कडा बनाएको हो।

उनले निषेधाज्ञालाई कडाइसाथ पालना गर्ने गरी हाललाई पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी कर्फ्यू खुलाउने निर्णय भएको जानकारी दिए।

भेला हुन नपाउने केही स्थानहरू लिखित रुपमै तोकिएको छ। जसअनुसार रातो मच्छिन्द्रनाथ रथ रहेको आसपास क्षेत्र पूर्व मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिका कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक (अल्का मोड) र उत्तर बखुण्डोल चोकमा भेला-जम्मा हुन पाइने छैन।

यस्तै, मीननाथको रथ रहेको आसपास क्षेत्र- पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक स्कुल अगाडिको चोक, दक्षिण पूर्णचन्डी मन्दिर र उत्तर पिपवहालसम्म भेला जम्मा हुन पाइने छैन।

बिहीबार रातो मच्छिन्द्रनाथको रथ जबरजस्ती तानेर स्थानीयले पुल्चोकसम्म ल्याएपछि झडप भएको थियो। सयौं मानिसहरू निस्केपछि शुक्रबार प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो।

शुक्रबार क्षमापूजा भएपछि स्थिति सामान्यतर्फ जाने संकेत मिलेको भन्दै प्रशासन यो निर्णयमा पुगेको प्रजिअ भट्टले बताए।  

प्रकाशित मिति: : 2020-09-04 22:05:47

प्रतिकृया दिनुहोस्