मधेशबाट विमलेन्द्र निधिलाई एकछत्र समर्थन ? यस्तो छ जिल्ला सभापतिहरूको ‘मूड’

पाली कांग्रेसको आसन्न महाधिवेशनमा संस्थागत पक्षबाट सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि खुलेरै सभापतिको उम्मेदवार बन्ने दौडमा छन् । संस्थापन पक्षबाट एकल उम्मेदवार को होला ? यकिन भइसकेको छैन ।

देउवाले आफू नै पुनः उम्मेदवार हुने इच्छा राख्दा पनि निधि सहजै छाड्ने अवस्थामा छैनन् । निधिले अर्काे महाधिवेशनमा युवापुस्ताका विश्वप्रकाश शर्मा र गगन थापाहरू नेतृत्वमा आउनसक्ने ठानेर अहिले नै तयारी थालेका छन् ।
 
निधिको गृहप्रदेश २ नम्बर प्रदेशका ८ वटै जिल्ला सभापतिले निधिको उम्मेदवारीलाई स्वाभाविक रूपमा लिएका छन् । देउवा र निधिबीच छलफल भएर देउवाले निधिलाई सर्वसम्मत उम्मेदवार बनाउनेमा जिल्ला सभापतिहरू ढुक्क छन् । सर्वसम्मत नभएर दुवै जना उम्मेदवार भएको अवस्थामा पनि प्रदेशबाट बहुमत मत निधिको पक्षमा नै जाने सभापतिहरू बताउँछन् । 

निधि २ नम्बर प्रदेशको धनुषा जिल्लाको जनकपुरका वासिन्दा हुन् । उनको पैतृक गाउँ धनुषाको नगराइन नगरपालिकाको नगराइन हो । जनकपुर र नगराइन दुवै ठाउँमा उनको घर छ ।

पछिल्लो प्रतिनिधिसभा चुनावमा दुवै घर भएको संसदीय निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लडेका निधि तत्कालीन राजपाका नेता राजेन्द्र महतोसँग पराजित भएका थिए । तत्कालीन एमाले र माओवादी गठबन्धनका कारण देशभर नै कांग्रेसले चुनाव हारेको तथा गठबन्धनले झण्डै दुईतिहाइ मत प्राप्त गरेका बेला धनुषामा नेकपाले भित्रभित्रै महतोलाई समर्थन गरेकाले निधिले पनि चुनाव हार्नुपरेको कांग्रेस धनुषाका सभापति महेश शंकर गिरी बताउँछन् ।

प्रकाशित मिति: : 2020-09-03 23:03:10

प्रतिकृया दिनुहोस्