अर्थमन्त्री खतिवडाको निरन्तरताको सम्भावना सकियो, गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ।

नेकपा सचिवालयको बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गौतमलाई सिफारिस गर्ने निष्कर्षमा पुगेको जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री युवराज खतिवडालाई पठाउने कि गौतमलाई पठाउने भन्नेमा नेकपाभित्र मतभेद देखिएको थियो। प्रवक्ता श्रेष्ठले अर्थमन्त्री खतिवडाबारे प्रधानमन्त्री ओलीले केही नभनेको बताए।

‘एउटा रिक्त स्थानमा उपाध्यक्षलाई सरकारको तर्फबाट मनोनयनका लागि राष्ट्रपतिलाई सिफारिस गरिनेछ मात्रै प्रधानमन्त्रीले भन्नुभयो,’ श्रेष्ठले भने, ‘हाम्रो पार्टीमा भएको निर्णय यही हो।’

राष्ट्रपतिबाट मनोनित गर्ने एक जना राष्ट्रिय सभा सदस्य पद छ महिनादेखि रिक्त थियो।

नेकपा सचिवालयको गत फागुन १४ गतेको बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो तर केही सातामै पुनः उक्त निर्णय परिवर्तन गर्दै गौतमलाई प्रतिनिधिसभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो ।प्रधानमन्त्री ओलीले सो निर्णय कार्यान्वयनमा आलटाल गरी अर्थमन्त्रीमा खतिवडालाई पुनर्नियुक्त गरेका थिए । यो विषयमा विवादसमेत चर्किएको थियो। 

नेकपा सचिवालयकै बैठकले पुरानो निर्णयकाे साटो वामदेग गौतमलाई उचित समयमा चुनाव लडाएर प्रतिनिधिसभा सदस्य बनाउने  निर्णय गरेको थियाे । आजकाे सचिवालय बैठक पुन: फागुन १४ कै निर्णयमा फर्केको हो ।

यसै साता प्रधानमन्त्री ओलीले एक टेलििभजन अन्तर्वार्तामा अर्थमन्त्री खतिवडाका कामकाे प्रश‌ंशा गरेपछि गौतमले आफू राष्ट्रियसभा सदस्य हुने इच्छा व्यक्त गरेका थिए । यसका लागि प्रचण्ड, नेपाल र खनालले यस विषयमा गौतमसँग पनि छलफल गरेको र सो क्रममा गौतमले पार्टीले निर्णय गरेको खण्डमा आफू राष्ट्रिय सभामा जान तयार रहेको बताएका थिए। 

सरकारले मनोनित गरेको कोटामा राष्ट्रियसभा सदस्य भएका अर्थमन्त्री खतिवडाको दुई वर्षे कार्यकाल गत फागुन २० गते सकिएको थियो।सांसद  नभए पनि ६ महिनासम्म मन्त्री हुने पाउने संवैधानिक व्यवस्थाअनुसार खतिवडा शनिबारसम्म मात्र मन्त्री हुन पाउने र यो अवधिमा संघीय संसदको सदस्य नभएमा स्वतः पदमुक्त हुने व्यवस्था छ।

गौतमलाई मन्त्री बन्न सं‌विधान बाधक 

नेपालको नयाँ संविधानले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका व्यक्तिलाई उक्त सभाको पदावधि कायम रहेसम्म मन्त्री हुनबाट निषेध गरेको छ। त्यसैले गौतम चर्चा गरिएजस्ताे मन्त्री बन्ने संभावना न्युन छ । पूर्वअर्थमन्त्री एवम् नेकपा महासचिव विष्णु पौडेललाई प्रधानमन्त्री ओलीले अर्थमन्त्री बनाउने नेकपा स्रोतकाे दाबी छ । 

संविधानको धारा ७८ को उपधारा ४ मा लेखिएको छ, ‘........ तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन।’ यसै प्रावधानले राष्ट्रियसभा सदस्य बने पनि उनी मन्त्री हुन सक्ने छैनन्।

नयाँ संविधानले संघीय सरकारको मन्त्री बन्न संघीय संसद्को सदस्य हुनु अनिवार्य गरेको छ। संसद् सदस्य नभएका व्यक्ति पनि छ महिनाभित्र सांसद् हुने गरी मन्त्री बन्न पाउन प्रावधान राखेको छ तर प्रतिनिधिसभा निर्वाचन हारेका व्यक्तिलाई भने मन्त्र बन्नका लागि प्रतिबन्धात्मक व्यवस्था गरेको छ।

नयाँ संविधान निर्माण गर्दा संविधानसभाभित्र नेपालको राजनीतिक प्रणालीलाई ‘सुधारिएको संसदीय व्यवस्था’ नाम दिइन्थ्यो। ‘संसदीय व्यवस्थालाई सुधार गर्ने क्रममा राखिएको व्यवस्था यो पनि एउटा हो’, तत्कालीन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले त्यसैबेला सञ्चारकर्मीलाई बताएका थिए, ‘अब चुनाव हारेका व्यक्तिहरू चोर बाटोबाट प्रवेश गरी मन्त्री बन्न सक्ने छैनन्।’

बाध्यतावश प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन सिफारिश गरे पनि मन्त्री बनाउन सक्ने छैनन्। गौतमको राष्ट्रियसभा सदस्य बनेमा अर्थमन्त्री खतिवडाको निरन्तरताको संभावना भने समाप्त हुने छ। 

प्रधानमन्त्रीले गौतमलाई राष्ट्रियसभा पठाउने प्रचण्ड, नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठको प्रस्तावलाई अस्वीकार गरेको भए उनी सचिवालयमा पुनः अल्पमतमा पर्ने थिए।

अनि पाँच महिनादेखिको लगातार विवादले फूटको संघारमा पुगेर फर्केको सत्तारुढ नेकपा विवाद समाधान कार्यदलको प्रतिवेदन कार्यान्वयनमा नआउँदै पुनः नयाँ विवादमा फस्नसक्ने थियो।

संविधान संशोधन गरी गौतमलाई मन्त्री बन्ने बाटो खोलेमा प्रतिनिधिसभामा पराजित भएर राष्ट्रियसभामा गएका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि मन्त्री बन्ने बाटो खुल्ने छ। साढे दुई वर्षअघिको संसदीय निर्वाचनमा गौतम बर्दिया–१ कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए। श्रेष्ठ चािहँ गोरखा जिल्लाको क्षेत्र नम्बर २ बाट पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग पराजित भएका थिए।

प्रकाशित मिति: : 2020-09-03 18:10:06

प्रतिकृया दिनुहोस्