सिंहदरवारको बेथिति : खल्तीबाट टिप्दै महावाणिज्य दूत बनाउँदै

रातोपाटी

काठमाडौँ

‘नेपाल प्रशासन सेवा राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव श्री उदयबहादुर रानामगर र सह सचिव श्री नवराज ढकाललाई परराष्ट्र मन्त्रालय वा अन्तर्गत सरुवा गर्ने ।’

सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले भदौ ११ गते सार्वजनिक गरेको विवरणको १७ नम्बर बुँदामा उल्लेखित टिप्पणी हो यो । खतिवडा भदौ नौ गतेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय ११ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै थिए ।

राना मगर र ढकाललाई नेपाल प्रशासन सेवाबाट परराष्ट्र मन्त्रालय अन्तर्गत सरुवा गर्नुको उद्देश्य थियो, उनीहरुलाई वाणिज्य दूत बनाउनु । झापाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहेका राना मगरलाई हङकङ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत ढकाललाई ल्हसाका लागि वाणिज्य दूत बनाइएको छ । रमाइलो ‘काकताली’ यो छ कि राना मगर र ढकाल दुवै प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालको गृह जिल्ला नुवाकोटका हुन् । रिमालको जन्मथलो नुवाकोट विदुर नगरपालिका वडा नं‍ १३ हाे भने राना मगरको बेलकाेटगढी नगरपालिका वडा नं. १२ र ढकालको वडा नं. ११ हो । ‘ल्हासाका लागि वाणिज्य दूत नियुक्त ढकाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमै कार्यरत हुनुहुन्छ’, प्रवक्ता रेग्मी भन्छन् ‘हङकङका लागि वाणिज्य दूत नियुक्त राना मगर झापा जिल्लाको सिडिओ हुनुहुन्थ्यो । यस बाहेक मलाई अरु कुरा थाहा छैन ।’

निजामती कर्मचारी ऐन अन्तर्गत १० वटा सेवा छन् । ती हुन्, (१) नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा (२) नेपाल इन्जिनियरिङ सेवा (३) नेपाल कृषि सेवा (४) नेपाल न्याय सेवा (५.१) नेपाल परराष्ट्र सेवा (६) नेपाल प्रशासन सेवा (७.१) नेपाल लेखापरीक्षण सेवा (८) नेपाल वन सेवा (९) नेपाल विविध सेवा (१०) नेपाल शिक्षा सेवा । पररराष्ट्र मन्त्रालयबाट जाने भए पनि वाणिज्य दूतको दरबन्दी प्रशासन सेवाअन्तर्गत नै हो । ‘त्यसैले सेवामा समस्या छैन । तर, कोही कसैका खल्तीका मान्छेलाई के मापदण्डका आधारका कसरी वाणिज्य दूत बनाएको हो ? भन्ने कुरा चाहिँ अन्योलमै छ’, नेपाल सरकारका एक जना सचिव भन्छन् ‘कोही गृह मन्त्रालयबाट भएका छन् । कोही संस्कृति, नागरिक उड्ययन तथा पर्यटन मन्त्रालयबाट भएका छन् । कसैलाई उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयबाट बनाइएको छ । छनोटको ठोस कार्यविधि र मापदण्ड नै छैन ।’

प्रकाशित मिति: : 2020-09-02 11:47:30

प्रतिकृया दिनुहोस्