केनोशा पुगेका ट्रम्पले जीवन–मरणमा पुगेका ज्याकोब ब्लेकका परिवारसँग भेटेनन्

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरीको विस्कनसिनको केनोशा शहरको भ्रमण गरेका छन्। केनोशाका मेयर तथा विस्कनसिनका गभर्नरले राष्ट्रपतिलाई नआउन भने पनि ट्रम्प त्यहाँ गएका हुन्।

२९ वर्षका अश्वेत ज्याकोब ब्लेकको ढाडमा प्रहरीले सातपटक गोली प्रहार गरेपछि रंगभेद तथा प्रहरी ज्यादतीविरुद्ध लगातार प्रदर्शन हुँदै आएको छ। 

केनोशा पुगेका ट्रम्पले प्रदर्शनको क्रममा क्षति पुगेको फर्निचर स्टोरसहितको अवलोकन गरेका थिए। उनले स्थानीय व्यवसायिक नेतृत्वसँग भने, ‘यहाँ शान्तिपूर्ण प्रदर्शन देखिँदैन, यो त आन्तरिक आतंकवाद हो।’

ब्लेकमाथि भएको प्रहरी आक्रमणको विरोधमा भएका प्रदर्शनले केही स्थानमा हिंसात्मक रुप लिएको थियो। प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएका छन्। केही गाडीमा आगो लगाइएको छ।

ज्याकोब ब्लेकमाथि अगस्ट २३ मा दुई प्रहरीले उनका तीन सन्तानकै सामुन्ने कारमा पस्नका लागेका बेला गोली प्रहार गरेको थियो। प्रहरीले उनलाई एकभन्दा धेरैपटक गोली प्रहार गरेका थिए।

गम्भीर घाइते भएका उनी हाल अस्पतालमा छन्। हाल अस्पताल भर्ना भएका ज्याकबको अवस्था चिन्तामुक्त रहेको बताइएको छ। तर स्पाइनलकर्डमा गोली लागेका तथा पेटमा प्वाल परेका उनी फेरि हिँड्न सक्ने हुन ‘चमत्कार’ को खाँचो रहेको उनको परिवारका वकिलले बताएका छन्।

केनोशा पुगेका ट्रम्पले जीवन–मरणमा पुगेका ज्याकोब ब्लेकका परिवारसँग भने भेटेनन्। ज्याकोबको परिवारले वकिलको उपस्थितिमा भेट हुनुपर्ने बताएपछि ट्रम्प पछि हटेका हुन्।

ज्याकोबका पिताले आफूहरुका लागि राष्ट्रपतिसँग भेट्नु भन्दा छोराको जीवन प्यारो रहेको बताएका थिए।

ट्रम्पलुे अमेरिकी प्रहरीको बचाउ गर्दै प्रहरीबाट भएका खराब घटनाहरुलाई मात्रै सञ्चारमाध्यमले स्थान दिएको र बढाइचढाइ गरेको आरोप लगाए। उनले प्रहरी प्रशासनमा संस्थागत रुपमै रंगभेद रहेको भन्ने आफूलाई नलाग्ने पनि बताए।

ट्रम्पले आउँदो नोभेम्बरमा हुने चुनावका लागि ‘ल एण्ड अडर’ लाई आफ्नो प्रमुख चुनावी मुद्धा बनाएका छन्।

पछिल्ला मत सर्वेक्षणहरुमा उनले डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडेनसँगको दूरी कम गरेको देखिएको छ।

ट्रम्पले भन्दा ‘ल एण्ड अडर’ अडर भने पनि आफ्नो राजनीतिक स्वार्थका लागि विभाजन र घृणाको बिस्तार गरी हिंसा भड्काएको आरोप बाइडेनले लगाएका छन्।

तर, अमेरिकामा पछिल्लो समय संस्थागत रुपमा रहेको रंगभेद विरुद्ध लगातार प्रदर्शन हुँदै आएपनि ट्रम्पले त्यसलाई अस्वीकार गर्दै आएका छन्।

दुई महिनाभित्र अमेरिकामा अश्वेत नागरिक माथि प्रहरीले गोली हानेको यो दोस्रो घटना हो। १२ जुनमा अटलान्टाको जर्जियामा पक्राउ गर्ने क्रममा २७ वर्षीइ रेसर्ड ब्रुक्सलाई पनि गोली हानिएको थियो। यो घटनामा आन्दोलन तीब्र हुने देखिएपछि अटलान्टाका प्रहरी प्रमुखले राजीनामा गरेका थिए।

२५ मेमा मिनिपोलिसमा ४० वर्षीय अश्वेत जर्ज फ्लोयडलाई प्रहरीले घाँटीमा घुँडाले ९ मिनेट थिचेर मारेका थिए।

यस घटनाको अमेरिकामा मात्र होइन, विश्वभरी निन्दा भएको थियो। फ्लोयडको निधनको विषयाई लिएर अमेरिकाको १ सय ४० सहरमा प्रदर्शन भएको थियो भने सरकारले ४० सहरमा कफ्र्यू लगाउनु परेको थियो। 

तर, ट्रम्पको केनोशा भ्रमणअघि भनेका थिए, ‘आगो बलिरहेको छ र हामीसँग त्यस्ता राष्ट्रपति छन् जो आगोका ज्वालाहरुका फ्यान हुन्, जसले आगो निभाउने प्रयास नै गरेका छैनन्।’

अमेरिकामा राष्ट्रपति पदको निर्वाचनको मिति नजिकिँदै जाँदा भइरहेको यस्ता घटनाले राष्ट्रपति ट्रम्पलाई अफ्ठेरोमा पार्ने आङ्कलन गरिएको छ।

प्रकाशित मिति: : 2020-09-02 07:35:16

प्रतिकृया दिनुहोस्