भारतलाई चीनकाे धम्की– पेङ्गाेङ तालमा झड्प भए भारतले ठूलाे नाेक्सानी बेहाेर्नु पर्ने

पूर्वी लद्दाखको पेङ्गाेङ तालमा चिनियाँ सैनिकसँग आइतबार पुन: भएको झड्पले नयाँदिल्लीको चिन्ता बढेको छ। दुई देशका सेनाहरु बीच सीमा क्षेत्रमा पुन: तनाव बढ्न थालेपछि सोमबारदेखि दुवै देशका सैनिक तथा नेताहरु आरोप–प्रत्यारोपमा उत्रिएका छन्।

पूर्वी लद्दाखमा चिनियाँ सैनिकले उत्तेजित सैन्य गतिविधि गरेको भारतीय पक्षले आरोप लगाएको छ। चीनकाे नयाँ रणनीतिलाई कुनै हालतमा सफल हुन नदिने भारत सरकारले बताएकाे छ। तर, भारतीय दावीमा कुनै सत्यता नभएकाे चीनकाे भनाई भर्खरै बाहिर आएकाे छ। उसले पूर्वी लद्दाखमा आफ्ना सैनिकले वास्तविक नियन्त्रण रेखा ननाघेकाे दावी गरेकाे छ। चिनियाँ सेनाका प्रवक्ताले भारतीय सैनिकले उल्टै सीमा रेखाकाे उल्ल‌ंघन गरेको आरोप लगाएका छन्। चिनियाँ विदेश मन्त्रालयले भारत सरकालाई आफ्ना सैनिक पेङ्गाेङ तालबाट  फिर्ता लैजान आग्रह गरेकाे छ। 

चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले हालै सार्वजनिक गरेको सम्पादकीयमा भारतले निहुँ खाेजिरहेकाे उल्लेख गरेको छ। ‘यदि भारत प्रतिस्पर्धा गर्न चाहन्छ भने चीनसँग उसको भन्दा धेरै हतियार र क्षमता छ,’ टाइम्सले चेतावनी दिएको छ। भारतले सैन्य मुठभेड चाहेको हाे भने पीएलए (पीपल्स लिबरेशन आर्मी) जवाफी कार्यवाही गर्न तयार रहेको सम्पादकीयमा उल्लेख छ।

सन् १९६२ को भारत–चीन युद्वमा भारतले नराम्रो हार ब्यहोर्नु परेको थियो। उक्त युद्वको स्मरण गराउँदै, ग्लोबल टाइम्सले त्योभन्दा धेरै नोक्सान भारतले बेहाेर्नुपर्ने चेतावनी दिएको छ। सम्पादकीयमा युद्वमा अमेरिकाले साथ दिन्छ भनेर साेच्नु भारतको भ्रम भएको बताइएकाे छ। 

दुई महिनादेखि पूर्वी लद्दाखका बिभिन्न ठाउँमा दुई सैनिकबीच तनाब यथावत छ। गलवान उपत्यकामा भएको हिंसात्मक झड्पमा २० भारतीय सैनिक मारिएका थिए। त्यसपछि यी दुई देशबीचकाे सम्बन्धमा केही सुधार हुने बताइएपनि अहिलेसम्म अवस्था तनावपूर्ण छ।

भारतीय सञ्चार माध्यमले आइतबार चिनियाँ सैनिकले पेङगाेङ तालको दक्षिणी किनारमा अतिक्रमण गर्ने प्रयास गरेको बताएकाे छ। तर, भारतीय सैनिकले चिनियाँ प्रयास विफल बनाएको दावी गरेकाे छ। 

प्रकाशित मिति: : 2020-09-05 19:00:00

प्रतिकृया दिनुहोस्