पहिलोपटक जब इन्द्रजात्रामा काठमाडौं सुनसान रह्यो....

काठमाडौं उपत्यकामा पछिल्लो समय तिब्र रूपमा फैलिएको कोरोनाका कारण यस वर्ष इन्द्रजात्रा क्षमा पूजा मात्र गरेर मनाइएको छ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा काठमाडौंमा आक्रमण गर्दासमेत नरोकिएको यो जात्रा यस पटक कोरोना संक्रमणको त्रासका कारण पहिलो पटक रोकिएको हो।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता इन्द्र एवम् जिवित देवी कुमारीको पूजा आराधना गरी काठमाडौं उपत्यकामा धुमधामका साथ  इन्द्रजात्रा मनाउने परम्परा थियो।

इन्द्रजात्राको प्रमुख आकर्षण र महत्वको रुपमा रहेको कुमारी, भैरव र गणेशको रथारोहण गरिने परम्परा छ ।

तर यस वर्ष कोरोना महामारीका कारण पूजा औपचारिकतामा मात्र सीमित भएको छ। यद्यपी जात्राको मुख्य दिन आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा समेत दिइएको छ ।

विगतका वर्षहरुमा जात्राको दिन तल्लो टोलमा कुमारीलाई यात्रा गराइन्थ्यो भने भोलिपल्ट माथिल्लो टोलमा यात्रा गराउने प्रचलन थियो।

यस वर्ष भने इन्द्रजात्रासँग सम्बन्धित तलेजु, भैरव, गणेश, कुमारीलगायत मन्दिरमा क्षमा पूजा गरेर विधि मात्र पुरा गरिएको गुठी संस्थान काठमाडौंका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयले संक्रमण फैलने भन्दै भीडभाडमा विभिन्न चाडपर्व नमनाउन आग्रह गरेको छ।

यसअघि काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजाताको सुरुवात गरिन्थ्यो।

भक्तपुरको चित्तपोलबाट ल्याइएको लिंगो हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरू गर्ने चलन थियो। यो लिंगो गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरू भएको मानिन्छ।

इन्द्र जात्रा सुरु भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाच पनि सुरु भएको हुन्थ्यो।

एक सातासम्म चल्ने इन्द्र जात्राको मुख्य दिन आगामी मंगलबार कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथ यात्रा गर्ने गरिन्थ्यो। र सोही दिन राष्ट्रप्रमुखको रुपमा राष्ट्रपतिले जात्रा अवलोकन गर्ने परम्परा छ।

हेर्नुहोस् तस्बिरहरू

प्रकाशित मिति: : 2020-09-01 14:16:20

प्रतिकृया दिनुहोस्