बढी नै अटेर गरे, अब निषेधाज्ञा थपेर मात्रै हुँदैन कर्फ्यू लगाउनुपर्छ: मेयर फोरमका संयोजक श्रेष्ठ

काठमाडौं उपत्यकाका जनप्रतिनिधिले उपत्यकामा कर्फ्यू लगाउन माग गरेका छन्।

करिब दुई सातादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाले चहलपहल नरोकिएको भन्दै कर्फ्यू नै लगाउनु पर्ने माग राखेकाे मध्यपुर ठिमीका मेयर तथा मेयर फोरमका संयोजक मदन सुन्दर श्रेष्ठले बताए।

निषेधाज्ञा थप गर्ने नगर्ने भन्ने विषयमा अहिले उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठक बसिरहेको छ। 

काठमाडौं उपत्यकाभित्रका तीनवटै प्रमुख जिल्ला अधिकारीको बैठकले थप गरेको निषधाज्ञाको पछिल्लो समय भोलि राति १२ बजेबाट सकिँदैछ। 

बैठकपछि गृह मन्त्रालयसँग समन्वय गरेर बुधबार यस विषयमा निर्णय गर्ने उनले बताए। 'मान्छेहरुले बढी नै अटेर गरे। अब निषेधाज्ञा थपेर मात्रै हुने देखिएन, सामान जोहो गर्न लगाएर कर्फ्यू लगाउनु पर्छ। निषेधाज्ञा थप गर्ने नगर्ने भन्ने विषयमा बुधबार निर्णय हुन्छ’, उनले भने।

यता सरकारले भने लामो समयदेखि निषेधाज्ञा जारी भएकाले मानिसको दैनिकी कष्टकर बन्दै गएपछि केही खुकुलो बनाएर अघि बढ्न निर्देशन दिएको छ।

तर,उनले यस विषयमा जनप्रतिनिधि, व्यवसायी र स्वास्थ्य विज्ञहरुको सुझाव लिइसकेको र उनीहरुबाट फरक फरक सुझाव आएको बताए।

उद्योगी व्यवसायीले भने निषेधाज्ञा समाधानको विकल्प नभएको भन्दै सतर्क रहेर व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरेका छन्।

कानुनी रुपमा जसरी सहज हुन्छ त्यसैगरी गर्ने र यस विषयमा गृहसँग र अरु जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग पनि छलफल गर्ने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताएको श्रेष्ठले जानकारी दिए।

व्यवसायीले सानो घेराको स्वार्थ राखेर निषेधाज्ञा खुलाउन माग गरेको उनको आरोप छ। स्थिति भयावह देखिएकाले थप कडाइ गर्न उनीहरुले माग गरेका छन्।

अहिले राति बजेदेखि बिहान ७ बजेसम्म कालिमाटी फलफुल तथा तरकारी बजार, बिहान साढे ५ देखि ९ बजेसम्म खाद्यय सामग्रीकाे पसल, मेडिकललगायत अतिआवश्यक पसल खाेल्न दिइएकाे छ।

यता, अत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, दुग्धजन्य पदार्थ साथै त्यसको प्याकेजिङका सामग्री, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, सरसफाईमा प्रयोग गरिने साबुनरस्यानिटाइजर लगायतका सामग्रीहरु, अस्पताल जाने आउने बिरामी, दाह संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न दिइएको छैन।

निषेधाज्ञा जारी भइरहे पनि राजधानीमा संक्रमितको संख्या झन्झन् बढ्दै गएको छ। यहाँ दिनहुँ ४ सयकाे हाराहारीमा काेराेना संक्रमित भेटिन थालेका छन्। यसलाई राेक्न भन्दै निषेधाज्ञाको पहिलो दिनमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई समेत कार्यालय आउन रोकतोक गरिएको थियो।

त्यसपछि बैंकर एसोसियसनले कर्मचारीलाई अवरोध गरेपछि बैंक खोल्न समस्या भएको भन्दै बन्द गर्ने निर्णय गरेपछि प्रशासनले कर्मचरी कार्ड देखाएर कार्यालय आउन र जान दिने निर्णय गरेको थियो।
 

प्रकाशित मिति: : 2020-09-01 13:46:00

प्रतिकृया दिनुहोस्