अरूणाञ्चल र असम कब्जा गर्ने यस्तो छ चिनियाँ चाल!

भारत र चीनको सीमा क्षेत्रमा तैनाथ सैनिकबीच तनाब बढिरहेको छ। भारत–चीन सम्बन्ध वार्तामार्फत सुमधुर बनाउने चर्चा चलिरहेका बेला पुनः पूर्वी लद्दाखमा दुई सैनिक मुखामुख भएका छन्। एकातिर वार्ता र अर्को तर्फ भारतलाई पेलेरै जाने चिनियाँ नीतिलाई भारतीय पक्षले गम्भीर ढंगले हेर्न थालेको छ।

चीनले भारतको अरूणाञ्चल राज्यसँग सीमा जोडिएका आफ्ना सीमावर्ती छेउछाउका तिब्बतीलाई हटाउन सुरु गरेको छ। पछिल्लो समय भारत–चीनबीच पूर्वी लद्दाखका विभिन्न स्थानहरुमा सीमा विवाद जारी छ। भारतले विवादित क्षेत्रबाट चिनियाँ पक्षलाई आफ्ना सैनिक फिर्ता लैजान बारम्बार आग्रह गरे पनि चीनले सैनिक तैनाथ कायमै राखेको छ।

चीनले तवाङ इलाकामा भारतीय सीमालाई लक्षित गरेर सैन्य शक्तिलाई बलियो बनाउने प्रयास थालेको छ। तवाङ इलाका नजिकै शत्तिशाली मिसाइल बनाउने काम जारी राखेको छ।

दक्षिण–पश्चिम चीनको श्यानन् काउन्टीका मानिसलाई अर्को ठाउँमा सार्ने काम भइरहेको चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले खुलासा गरेको छ। टाइम्सका अनुसार चीनले भारत र भुटानसँग सीमा जोडिएका ९६ मानव बस्तीलाई नयाँ स्थानमा सार्ने काम गरिरहेको छ।

गत अप्रिलमा भारतीय र चिनियाँ सैनिकबीचको झडपले शक्तिराष्ट्र र छिमेकमा हलचल नै मच्चियो। चिनियाँ सैनिकले भारतीय भू–भागमा हस्तक्षेप बढाउन खोजेपछि गालवान उपत्यकामा हिंसात्मक झडप भएको थियो। उक्त झडपमा परि २० भारतीय सैनिक मारिए। थुप्रै घाइते भए। तर, चिनियाँ सैनिक तर्फ क्षति भयो या भएन त्यो भने अहिलेसम्म बाहिर आएको छैन।

निमार्ण भइरहेको नयाँ गाउँमा बिजुली, पानी र इन्टरनेट उपलब्ध गराउने कामलाई प्राथामिकतामा राखेको छ। चीनले सेप्टेम्बर अन्तिमसम्म ९६ गाउँका मानिसलाई नयाँ गाउँमा बसाउने लक्ष्य राखेको छ। चीनले भारत–भूटानको सीमा क्षेत्र दोक्लाममा समेत मिसाइल तैनाथ गरेको भारतीय सञ्चारमाध्यले दाबी गरेका छन्। दोक्लाममा सन् २०१७ देखि चीनले सीमा विवादलाई चर्चामा ल्याएको छ।

अरूणाञ्चल आसपासका बिभिन्न समाचारहरू आउन थालेपछि चीनले भने तिब्बतीलाई सीमा क्षेत्रबाट सार्ने काम सन् २०१८ देखि सुरु भएको बताएको छ। चीनका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिने तबाङ इलाका तिब्बत र भुटानको सीमासँग जोडिएको छ। यसै कारण पनि चीनले पछिल्लो समय भूटानसँग सीमा विवाद बनाइरहेको छ। भूटानमा पर्ने साकटेङ वन्यजन्तु क्षेत्रलाई चीनले दाबी गर्दै आएको छ। साकटेङमा पाइला टेक्न बितिकै चीन असमसम्म सिधै पुग्न सक्ने भारतीय रक्षा मामिलाका जानकारहरुको बुझाई छ। चीनले भारतमा पर्ने तबाङलगायत इलाकालाई दक्षिण तिब्बतको हिस्सा मान्ने गरेको छ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: : 2020-09-01 11:55:00

प्रतिकृया दिनुहोस्