शिव उप्रेती
त्यतिबेला पनि उ भारी बोक्थ्यो। सानो र कलिलो कुर्कुच्चा बाङ्गो पारेर भारी बोकेको देख्ने जो कोहीले माया गर्थे। भारी बिसाएपछि ज्यालामा ‘यो चाहिँ चिया खा है!’ भनेर पाँच रुपैयाँ थपिदिन्थे। दोकाँधे नाम्लो भिरेर एकाबिहानै बसपार्क झर्ने मोती बहादुरले सानैदेखि राजुलाई पनि भारी बोक्न सिकायो।
झिसमिसेमै बाबुको पछि लागेर बजार झर्दा उ कम्ती खुशी हुन्थेन। भारी नपाउञ्जेल बाउ र उनका साथीहरू बसपार्कको कुनामा फोहोर बालेर आगो ताप्दै चिया खान्थे। बाबुले उसको भाग पनि चिया किनिदिन्थ्यो।
खासमा चिनी पनि राम्ररी नलागेको घरको फिक्का चिया मन नपरेर उ बाबुको पछि लागेर बजार झरेको हो। चियासित पाउरोटी पनि पाएपछि अल्लि थपेर भारी बोके पनि उसलाई गह्रुङ्गो लाग्दैनथ्यो।